काठमाडौँ : राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको बैठकले देशको खुला सीमाबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै सीमा सुरक्षालाई थप प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले सीमा क्षेत्रमा खटिने सुरक्षा निकायलाई आवश्यक जनशक्ति, स्रोतसाधन, आधुनिक उपकरण तथा पूर्वाधारसहित सुदृढ बनाइ आवश्यक स्थानमा पर्याप्त ‘बोर्डर आउट पोस्ट’ स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन निर्देशन गरेको छ।
समितिका सभापति जयन्तीदेवी राईले आजको समितिको बैठकले सरकारलाई तीन बुँदे निर्देशन दिएको जानकारी दिइन्। समितिले लागुऔषध नियन्त्रण, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, मानव तस्करी, भन्सार छली, रोहिङ्गयालगायत विदेशी नागरिकहरूको अवैध प्रवेश तथा अन्य सीमा अपराधहरूको प्रभावकारी नियन्त्रणका लागि अध्यागमन, भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा अन्य सम्बन्धित निकायबिच आवश्यक तथ्याङ्क (डाटा) आदानप्रदान हुने एकीकृत प्रणाली विकास गरी डिजिटल बोर्डर व्यवस्थापन प्रणाली यथाशीघ्र निर्माण तथा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
त्यसैगरी समितिले सीमा सुरक्षामा खटिने सुरक्षा निकायले सीमा अपराध नियन्त्रण, गस्ती, निगरानी, सूचना आदानप्रदान गर्ने कार्य तथा अन्तरनिकाय समन्वय प्रभावकारी रूपमा सञ्चालन गर्न सक्ने गरी विद्यमान कानुनी व्यवस्थाको पुनरवलोकन तथा आवश्यक नयाँ कानुनी व्यवस्था तर्जुमा गरी सीमा सुरक्षा प्रणालीलाई सुदृढ बनाउनको लागि सरकारलाई निर्देशन गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij