चितवन: भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन्।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु ६ सम्म मूल्य पाएका छन्। “यो काँचो केराको मूल्य हो। गत वर्षको यही समयमा एउटाको केरा रु दुई देखि रु तीनमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “यस वर्ष बल्ल किसानले केराको उचित मूल्य पाएका छन् ।”गत असोजदेखि बाहिरबाट केरा भित्रन रोक लगाइएको जनाउँदै महतोले केरा आयात हुन छाडेपछि यसवर्ष जिल्लाका किसानले सात लाख बिरुवा थप गरेका उल्लेख गरे। उनका अनुसार जिल्लामा तीन हजार बिघा जमिनमा केराखेती गरिएको छ। यसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुन्छ।
जिल्लामा मालभोग, जिनाइन, बिलियम हाइब्रिड जातका केरा लगाइँदै आइएको महतोले जानकारी दिए। उनका अनुसार जिल्लामा करिब ७०० किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन्।मुख्य रूपमा कालिका र रत्ननगर नगरपालिकामा किसानले केरा लगाएका छन्। जिल्लाका अन्य पालिकामा केराखेती गरिन्छ। तीमध्ये अधिकांशले जग्गा भाडामा लिएर केराखेती गरिरहेका केरा उत्पादक सङ्घले जनाएको छ।
यहाँ उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगञ्ज, हेटौँडालगायत सहरमा जाने गर्दछ। फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अन्य मौसममा केरा उत्पादन बढी हुने सङ्घले जनाएको छ। बिरुवा लगाएको १० महिनादेखि एक वर्षमा उत्पादन लिन सकिन्छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij