चितवन : भरतपुर महानगरपालिका–१० स्थित महाकालेश्वर शिव मन्दिर परिसरमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थायी घर भई हाल भरतपुर–१० रमाइलोचोक बस्दै आएका २१ वर्षीय शेखर चन्द रहेका छन्।
डीएसपी चन्द्रभूषण यादवका अनुसार बिहीबार साँझ करिब ६:४५ बजे मन्दिरका सल्लाहकार सदस्य ७८ वर्षीय शान्ताराम श्रेष्ठमाथि मोटरसाइकलको हेल्मेट प्रहार गरी कुटपिट गरिएको थियो।
प्रारम्भिक जानकारीअनुसार केही बालबालिका जुत्ता लगाएर मन्दिरभित्र खेलिरहेका बेला श्रेष्ठले त्यसो नगर्न सम्झाएका थिए। सोही विषयलाई लिएर विवाद बढ्दै जाँदा कुटपिट भएको आरोप लागेको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न रहेका चन्दलाई उनकी दिदीले फोन गरेर मन्दिरमा बोलाएपछि विवाद भएको थियो।
घटनापछि प्रहरीले चन्दलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले भने घटनाको प्रारम्भिक सीसीटीभी फुटेजमा महिलाले दाबी गरेजस्तो वृद्धले बालकलाई कुटपिट गरेको दृश्य नदेखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij