Logo

Jul 25 2026 | २०८३, श्रावण ९गते

इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

चितवन : जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लालपुर्जा प्राप्त गरेसँगै ती परिवारले आफूले वर्षौंदेखि बसोबास तथा उपयोग गर्दै आएको जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। जग्गाको स्वामित्व नहुँदा विभिन्न कानुनी, सामाजिक तथा आर्थिक समस्या भोग्दै आएका परिवारका लागि यो महत्वपूर्ण उपलब्धि भएको सरोकारवालाहरूले बताएका छन्।

लालपुर्जा वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै यस अभियानले सामाजिक न्याय र आर्थिक सशक्तीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सरकारले देशभर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने उद्देश्यका साथ नापजाँच, तथ्यांक संकलन, लगत प्रमाणीकरण तथा जग्गा व्यवस्थापनको कामलाई तीव्रता दिँदै आएको छ। सोही अभियानअन्तर्गत चितवनमा पनि लालपुर्जा वितरणलाई निरन्तरता दिइएको हो।

जग्गाको स्वामित्व प्राप्त भएसँगै लाभग्राहीहरूले अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन, घर निर्माण गर्न, सरकारी सेवा–सुविधा प्राप्त गर्न तथा आफ्नो सम्पत्तिमाथिको कानुनी हक सुरक्षित रूपमा उपयोग गर्न सक्ने भएका छन्। सरकारले आगामी दिनमा पनि योग्य भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारलाई क्रमशः लालपुर्जा वितरण गर्दै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij