चितवन : भरतपुर महानगरपालिका–१० स्थित ऐतिहासिक गेष्ट हाउस चौरलाई ‘सहिद मञ्च गेष्ट हाउस चौर’ तथा सँगै रहेको पार्कलाई ‘भरतपुर समन्वय पार्क’ का रूपमा विकास गरिने भएको छ। दुवै संरचनाको विकासका लागि भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ मा कुल २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारीका अनुसार सहिद मञ्च गेष्ट हाउस चौरको विकासका लागि १ करोड रुपैयाँ र भरतपुर समन्वय पार्कको स्तरोन्नतिका लागि १ करोड रुपैयाँ छुट्याइएको हो। परियोजनाको डिजाइन तथा अन्य प्राविधिक तयारीसमेत अघि बढिसकेको उनले जानकारी दिए।
वि.सं. २०१८ सालको जनआन्दोलनका क्रममा तत्कालीन सरकारले दर्जनौँ व्यक्तिलाई गेष्ट हाउस चौरस्थित इनारमा हालेर हत्या गरेको ऐतिहासिक घटनाको स्मरण तथा सहिदहरूको सम्मानस्वरूप उक्त क्षेत्रको नाम ‘सहिद मञ्च गेष्ट हाउस चौर’ राखिएको हो। सोही क्षेत्रसँगै रहेको पार्कलाई ‘भरतपुर समन्वय पार्क’ का रूपमा आधुनिक र व्यवस्थित बनाइनेछ।
विनियोजित बजेटबाट सहिद मञ्च क्षेत्रमा जमिन सम्याउने, उचाइ व्यवस्थापन गर्ने, प्रवेशद्वारसहित कम्पाउन्ड निर्माण, ड्रेनेज प्रणाली, उच्चस्तरीय खेल मैदान तथा विभिन्न सार्वजनिक कार्यक्रम सञ्चालन गर्न मिल्ने मञ्च निर्माण गरिनेछ। समन्वय पार्कलाई पनि आधुनिक पूर्वाधारसहित सुविधासम्पन्न पार्कका रूपमा विकास गर्ने योजना रहेको महानगरले जनाएको छ।
यसअघि जिल्ला समन्वय समितिका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चौर र पार्क भरतपुर महानगरपालिकालाई भोगचलनका लागि हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
यसैबीच, नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा सोही क्षेत्रमा वृक्षारोपण कार्यक्रम गरी पार्क तथा चौर विकास अभियानको औपचारिक सुरुवात गरिएको छ।
नेपाली कांग्रेस भरतपुर महानगर समितिको आयोजनामा भएको कार्यक्रममा महानगर सभापति चित्रसेन अधिकारीको सभापतित्व तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रा. डा. केदारनरसिंह केसी, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा वृक्षारोपणमार्फत वातावरण संरक्षणको सन्देश दिनुका साथै बीपी कोइरालाले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई स्मरण गरिएको आयोजकले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij