काठमाडाैँ : पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सिर्जना भएपछि मे महिनायता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर पुगेको छ।
अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण तीव्र बनाएपछि बिहीबार अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको हो।
यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा एक्कासि उछाल आएको हो। साउदी अरबले स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्न प्रयोग गर्दै आएको यो प्रमुख मार्ग अहिले खतरामा परेको छ।
तेलसँगै ग्यासको मूल्य पनि विगत एक महिनादेखि लगातार बढिरहेको छ। जुनको अन्त्यमा प्रतिथर्म ९८ पेन्स रहेको बेलायतको बेन्चमार्क ग्यासको मूल्य अहिले बढेर १५० पेन्स पुगेको छ।
यसअघि अमेरिका र इरानबिच अस्थायी युद्धविराम भएपछि तेलको मूल्य घट्दै गएको थियो। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गर्नुअघिको स्तरमा मूल्य ओर्लिएको थियो।
तर युद्धविराम कायम हुन सकेन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानका शासकहरू ‘सम्झौताका लागि तयार नरहेको’ बताएका छन्।
जारी द्वन्द्वका कारण धेरै देशमा मुद्रास्फीति बढ्ने र उपभोक्ताले महँगीको मार खेप्नुपर्ने जोखिम बढेको छ। तेलको मूल्य बढ्दा सामान्यतया पेट्रोल र डिजेल महँगो हुन्छ। यसले सवारी चालकहरूलाई प्रत्यक्ष असर त पार्छ नै, ढुवानी भाडा महँगो हुने भएकाले खाद्यान्नलगायत अन्य वस्तुको मूल्य पनि बढाउँछ।
बेलायतमा अढाई साताको अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर ५ पेन्सले बढेर करिब १.५६ पाउन्ड पुगेको छ। यस्तै डिजेलको औसत मूल्य प्रतिलिटर १.७२ पाउन्ड पुगेको छ। अमेरिकामा पनि ग्यासोलिनको औसत मूल्य बढेर प्रतिग्यालन ४ डलर नाघेको छ।
अमेरिकी केन्द्रीय बैंकका नवनियुक्त अध्यक्ष केभिन वार्शले गत साता कंग्रेसमा बोल्दै उच्च मुद्रास्फीतिलाई केन्द्रीय बैंकले सहन नगर्ने बताएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्शभन्दा अघिका अध्यक्ष जेरोम पावेललाई ब्याजदर घटाउन दबाब दिएका थिए र नयाँ अध्यक्षबाट पनि उनले सोही अपेक्षा राखेका छन्।
तर गत महिना बसेको बैठकमा फेडले ब्याजदर ३.५ देखि ३.७५ प्रतिशतकै बिचमा यथावत राखेको छ। वार्शले पश्चिम एसियाको द्वन्द्वले मूल्य वृद्धिमा पारेको असरलाई नियन्त्रण गर्दै मूल्य स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij