काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज (बुधबार) हुने भएको छ।
चितवनको भरतपुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित ६ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यलाई आज औपचारिक रूपमा शपथ गराइने पार्टीले जनाएको छ। शपथ ग्रहणपछि नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हाल्नेछ। शपथ ग्रहण कार्यक्रमलगत्तै रास्वपाले केन्द्रीय समितिको पहिलो बैठक पनि बसाल्ने तयारी गरेको छ। बैठकमा पार्टीका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनलगायत समसामयिक संगठनात्मक विषयमा छलफल र आवश्यक निर्णय गरिने महामन्त्री कबिन्द्र बुर्लाकोटी आचार्यले जानकारी दिनुभयो।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न भएको थियो। महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गरेको थियो। सभापति लामिछानेले भने महाधिवेशन समापनकै क्रममा भरतपुरमै शपथ ग्रहण गरिसक्नुभएको छ। महाधिवेशनपछि आजको शपथ ग्रहण र केन्द्रीय समिति बैठकलाई रास्वपाको नयाँ नेतृत्वलाई औपचारिक रूपमा सक्रिय बनाउने महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ। बैठकबाट आगामी संगठन विस्तार, पार्टी सञ्चालन तथा भावी रणनीतिबारे समेत प्रारम्भिक छलफल हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij