काठमाडौँ : काठमाडौँ उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि रोग तीव्र रूपमा फैलिएको पशु सेवा विभागले जनाएको छ । विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कागमा देखिएको बर्डफ्लु नियन्त्रण गर्नु कुखुरामा देखिएको भन्दा धेरै कठिन हुने भएकाले संक्रमण फैलावट बढेको हो ।
उनका अनुसार काग एक ठाउँबाट अर्को ठाउँ उड्ने भएकाले संक्रमण सहजै फैलिने गरेको छ । “कागमा देखिएको बर्डफ्लु २१ दिनसम्म सक्रिय रहन सक्छ, जसले रोग फैलाउने जोखिम अझ बढाउँछ,” उनले बताए । मरेका काग तथा तिनको दिसा (सुली) समेत संक्रमणको प्रमुख स्रोत बन्न सक्ने उनले जानकारी दिए ।
सदर चिडियाखाना लगायत विभिन्न स्थानमा कागमार्फत संक्रमण फैलिएको आशंका गरिएको छ । हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु पुष्टि भएको छ भने देशभर ११ जिल्लाका करिब १०० स्थानमा संक्रमण देखिएको विभागले जनाएको छ ।
महानिर्देशक दाहालका अनुसार कीर्तिपुर र कागेश्वरी मनहरा बाहेक उपत्यकाका अधिकांश स्थानमा नियन्त्रणको अवस्था रहेको छ । बर्डफ्लु उच्च मृत्युदर भएको संक्रामक रोग भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
संक्रमण नियन्त्रणका लागि विभागले उपमहानिर्देशकको नेतृत्वमा नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहको समन्वयमा अभियान सञ्चालन गरिरहेको छ ।