काठमाडौं : नेपालमा पछिल्ला पाँच वर्षमा क्यान्सरका बिरामीको संख्या झन्डै दोब्बरले बढेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका अनुसार सरकारले उपचार खर्च उपलब्ध गराउने क्यान्सरका बिरामी आर्थिक वर्ष २०७७/७८ मा १५ हजार १८७ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा बढेर २८ हजार ६७८ पुगेका छन्। महाशाखाका निर्देशक हीरादेवी निरौलाले क्यान्सरबारे पर्याप्त जनचेतनाको अभाव, अस्वस्थ जीवनशैली तथा जोखिमपूर्ण बानीका कारण बिरामीको संख्या बढ्दै गएको बताए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १९ हजार ३१, २०७९/८० मा १६ हजार ६९६ र २०८०/८१ मा २२ हजार १५३ जनाले सरकारी उपचार सहुलियत लिएका थिए।
निरौलाले क्यान्सरबाट बच्न सरकार, नागरिक समाज र समुदायले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोषमार्फत क्यान्सर पीडितलाई एक लाख रुपैयाँसम्म उपचार सहायता उपलब्ध गराउँदै आएको छ भने प्रदेश सरकारले पनि थप एक लाख रुपैयाँसम्म सहयोग प्रदान गरिरहेको छ। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, पेट र ठूलो आन्द्राको क्यान्सर प्रमुख रूपमा देखिने गरेको छ। पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिने भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख रहेको महाशाखाले जनाएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार धुम्रपान, मद्यपान, जंकफुडको अत्यधिक सेवन, मोटोपन, व्यायामको कमी, अस्वस्थ खानपान, विकिरण, संक्रमण तथा वंशाणुगत कारणले क्यान्सरको जोखिम बढ्ने गर्छ। उनले स्वस्थ खानपान, नियमित व्यायाम, धुम्रपान तथा मद्यपानबाट टाढा रहँदै तौल नियन्त्रणमा राखे क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताए। सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरीलाई निःशुल्क एचपिभी खोप लगाउँदै आएको छ। साथै भक्तपुर क्यान्सर अस्पताल, चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै आएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij