Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल

भरतपुर : भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा देशभरका संघीय अस्पतालमध्ये उत्कृष्ट घोषित भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा अस्पतालले ८९ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। गत आर्थिक वर्ष ८८ अंक प्राप्त गरेको अस्पतालले यसपटक एक अंक सुधार गर्दै ८९ अंकसहित ‘ग्रिन जोन’मा आफ्नो स्थान कायम राखेको छ। मूल्याङ्कनअनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७७ अंकसहित दोस्रो तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ७१ अंकसहित तेस्रो स्थानमा रहेका छन्।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालले अघिल्लो वर्षको तुलनामा सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको बताउनुभयो। उहाँका अनुसार बिरामीले पाउने सेवा, आधुनिक उपकरण, औषधि व्यवस्थापन, सरसफाइ, ड्युटी रोस्टर तथा जनशक्ति व्यवस्थापनमा निरन्तर सुधार गरिएकाले उत्कृष्ट नतिजा हासिल गर्न सम्भव भएको हो। उहाँले चिकित्सक, नर्स तथा कर्मचारीहरूको सकारात्मक सोच र सेवाप्रतिको प्रतिबद्धताले अस्पतालको कार्यसम्पादन अझ प्रभावकारी बनेको उल्लेख गर्नुभयो।

मूल्याङ्कन टोलीका संयोजक डा. श्रीराम तिवारीले देशभरका १४ संघीय जनरल अस्पतालमध्ये भरतपुर अस्पतालको सेवा प्रवाह उत्कृष्ट रहेको बताउनुभयो। मन्त्रालयले १ हजार ४ सय ९७ सूचकका आधारमा अस्पतालहरूको सेवा गुणस्तर मूल्याङ्कन गरेको जानकारी दिँदै उहाँले आवश्यक पूर्वाधार र उपकरण अभाव देखिएमा मन्त्रालयले बजेटमार्फत सहयोग गर्ने नीति रहेको स्पष्ट पार्नुभयो। डा. तिवारीका अनुसार विगतमा एमआरआई र क्याथ ल्याबजस्ता सेवा अभावमा देखिएपछि मन्त्रालयले बजेट उपलब्ध गराएर ती सेवा विस्तार गर्न सहयोग गरेको थियो। अस्पतालले अधिकांश सूचक पूरा गरे पनि सामाजिक परीक्षण र अस्पताल विकास समितिको सक्रियतामा थप सुधार आवश्यक रहेको उहाँको भनाइ छ।

हाल ६ सय शैय्याको भरतपुर अस्पतालमा दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म बिरामीले बहिरंग सेवा लिने गरेका छन्। अस्पतालले १४ वटा सुपरस्पेसियालिटी सेवा सञ्चालन गरिरहेको छ भने चितवनसहित २५ जिल्लाका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। प्रसूति सेवाको हिसाबले पनि काठमाडौंको प्रसूति गृहपछि भरतपुर अस्पताल दोस्रो ठूलो सरकारी अस्पतालका रूपमा परिचित छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट