चितवन : भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आएपछि सेवा केही दिनदेखि अवरुद्ध भए पनि बिरामीको सहजताका लागि वैकल्पिक व्यवस्था गरिएको छ। अस्पतालले निजी अस्पतालहरूसँगको समन्वयमा सिटी स्क्यान सेवा निरन्तर सञ्चालनमा ल्याएको जनाएको छ।
अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार बिरामीलाई मर्का नपरोस् भन्ने उद्देश्यले निजी अस्पताल समन्वय समिति (AFIN) चितवनसँग विशेष सम्झौता गरिएको हो। सम्झौताअनुसार अब भरतपुर अस्पतालमा स्वास्थ्य बीमाअन्तर्गत लाग्ने सरकारी दररेटमै निजी अस्पतालहरूले सिटी स्क्यान सेवा उपलब्ध गराउने छन्। डा. सापकोटाले भने, “बीमाअन्तर्गत लाग्ने जति शुल्क हुन्छ, त्यही दरमा निजी अस्पतालमार्फत सेवा दिने व्यवस्था गरिएको हो। बिरामीलाई कुनै असुविधा नहोस् भनेर यो पहल गरिएको हो।”
सम्झौताअनुसार बिरामीलाई भरतपुर अस्पतालकै सवारीसाधनमार्फत तोकिएका निजी अस्पतालमा लगिने र परीक्षणपछि पुनः अस्पतालमै फर्काइने व्यवस्था गरिएको छ। भरतपुर अस्पतालले मेसिन मर्मत प्रक्रिया पनि अघि बढाएको जनाएको छ। करिब नौ वर्ष पुरानो सिटी स्क्यान मेसिनको एक्स–रे ट्युब बिग्रिएपछि सेवा अवरुद्ध भएको हो। अस्पतालका अनुसार आवश्यक पार्टपुर्जा नेदरल्यान्ड्सबाट मगाउनुपर्ने भएकाले सेवा पूर्ण रूपमा पुनः सञ्चालन हुन करिब दुई हप्ता लाग्न सक्नेछ। अस्पतालमा दैनिक करिब ५० जना बिरामीले सिटी स्क्यान सेवा लिने गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij