Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’

५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। असार ९ गतेसम्म चल्ने महाधिवेशनको बन्द सत्रमा सहभागी हुन आएका प्रतिनिधिहरूसँग पार्टीले खाना र नास्ता व्यवस्थापनका लागि भन्दै ५ हजार रुपैयाँ शुल्क उठाएको छ। 

तर, महाधिवेशनमा सहभागी हुन देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधिहरूले भने उक्त शुल्कलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन्। कतिपयले शुल्क महँगो भएको र सुविधा कम भएको गुनासो गरेका छन् भने कतिपयले यसलाई पुराना दलहरूको चन्दा उठाउने प्रवृत्ति र भ्रष्टाचार रोक्ने सकारात्मक अभ्यास मानेका छन्। महाधिवेशनमा कुल ४ हजार २ सय ११ प्रतिनिधि रहेका छन्, जसमध्ये झन्डै ४ हजार जनाले उक्त शुल्क बुझाइसकेको तथ्यांक छ।

झापा क्षेत्र नम्बर ३ का संयोजक कमल बानियाँ दूरदराज र पहाडी क्षेत्रबाट आउने प्रतिनिधिका लागि यो शुल्क अलि महँगो भएको बताउँछन्। आउने-जाने गाडी भाडा र बास बस्ने व्यवस्था प्रतिनिधि आफैँले गर्नुपरेको अवस्थामा ५ हजार शुल्कले थप आर्थिक भार पारेको उनको भनाइ छ। ‘बन्द सत्रदेखिका गतिविधिमा खाना र नास्ताको व्यवस्था पार्टीले गरेको छ, तर खर्च ५ हजार भन्ने कुरामा भित्र पनि कुरा उठ्ला, पार्टी नेतृत्वले केही विचार गर्ला भन्ने आशा छ,’ बानियाँले भने।

झापा अर्जुनधाराका महासमिति प्रतिनिधि मदन भट्टराई पनि पुराना पार्टीले एक हजार उठाएर मासु-भात खुवाउने तर रास्वपामा ५ हजार तिर्दा पनि सामान्य खाना मात्रै पाएको गुनासो प्रतिनिधिहरूबाट आइरहेको स्वीकार्छन्। सबै प्रतिनिधिको आर्थिक अवस्था समान नहुने भएकाले नेतृत्वले यस्ता गुनासालाई सम्बोधन गर्नुपर्ने भट्टराईको भनाइ छ। बन्द सत्रभन्दा अगाडिका सबै खर्च प्रतिनिधि आफैँले व्यवस्थापन गरिरहेको उनले बताए।

शुल्क र सुविधालाई लिएर केही असन्तुष्टि देखिए पनि यसको पछाडि सकारात्मक पाटो रहेको तर्क गर्नेहरू पनि छन्। रुपन्देही तिलोत्तमा-९ का गोपालप्रसाद न्यौपाने आर्थिक भार परे पनि यो भ्रष्टाचारविरुद्धको एउटा महत्वपूर्ण कदम भएको बताउँछन्। अन्य राजनीतिक दलले ठूलो मात्रामा चन्दा उठाउने र त्यसले सरकारलाई प्रभाव पारी भ्रष्टाचार सुरु हुने उनको भनाइ छ। ‘प्रतिनिधि वा उम्मेदवार आफैँले खर्च म्यानेज गर्दा यो भ्रष्टाचारविरुद्धको एउटा पाटो बन्छ,’ न्यौपानेले भने।

त्यसैगरी, कोशी-काठमाडौँ सम्पर्क विभागका सचिव तथा महाधिवेशन प्रतिनिधि रोशन कट्टेल देश परिवर्तन गर्न हिँडेका युवाहरूले सामान्य खर्चमा चित्त दुखाउन नहुने बताउँछन्। पार्टीले गरेको प्रक्रियागत निर्णयलाई सबैले समर्थन गरेर जानुपर्नेमा उनले जोड दिए। व्यवस्थापकीय रूपमा सानातिना त्रुटि भए पनि त्यसलाई ठूलो बनाउन नहुने भन्दै उनले भने, ‘परिवर्तनका लागि हिँडेपछि केही गुमाउन पनि जान्नुपर्छ, हामीले देश र आउने भविष्यका लागि दिँदैछौँ भनेर बुझ्नुपर्छ।’

रास्वपाको यस महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले महँगो शुल्क र अपर्याप्त सुविधालाई लिएर गुनासो त गरेका छन्, तर पुराना दलहरूले जस्तो व्यापारीसँग चन्दा नमागी आफ्नै प्रतिनिधिबाट खर्च जुटाउने पार्टीको प्रयासलाई उनीहरूले देश बदल्ने अभियानकै एउटा हिस्साका रूपमा स्वीकार गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट