Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपा महाधिवेशनका लागि व्यापारीसँग चन्दा नउठाइएको स्पष्टता, प्रवक्ता झाले दिए विवरण

रास्वपा महाधिवेशनका लागि व्यापारीसँग चन्दा नउठाइएको स्पष्टता, प्रवक्ता झाले दिए विवरण

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी–व्यापारीमार्फत चन्दा सङ्कलन नगरिएको स्पष्ट पारेका छन्।

भरतपुरमा आयोजित महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनका नाममा कुनै पनि घराना वा व्यापारी समूहलाई रसिद पठाउने अभ्यास बन्द गरिएको बताए। “हामीले आफ्नो व्यवस्था आफैँ गरेका छौँ, महाधिवेशनका लागि भनेर कुनै घराना व्यापारीलाई रसिद पठाएका छैनौँ,” उनले भने। झाका अनुसार महाधिवेशन सञ्चालनका लागि करिब चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त रकम पार्टीका सांसद, केन्द्रीय समिति सदस्य, विभिन्न विभागका सदस्यबाट उठाइने लेबी तथा महाधिवेशन प्रतिनिधिबाट संकलन गरिने उनले जानकारी दिए।

उनले सांसदबाट मासिक करिब १६ हजार ५०० रुपैयाँका दरले योगदान उठाइने र त्यसबाट मासिक झन्डै ३२ लाख रुपैयाँ संकलन हुने दाबी गरे। त्यस्तै केन्द्रीय सदस्यबाट वार्षिक २५ हजार रुपैयाँ लिइने र महाधिवेशन प्रतिनिधिबाट समेत करिब डेढ करोड रुपैयाँ संकलन हुने उनले बताए।

शुभेच्छुकहरूलाई आन्तरिक रूपमा क्युआर कोडमार्फत सहयोग संकलन गरिएको पनि उनले उल्लेख गरे। उनका अनुसार पार्टीका अधिकांश सदस्य आन्तरिक पेसामा आबद्ध भएकाले बाह्य चन्दा संकलन आवश्यक परेको छैन। “राजनीतिमा आउने व्यक्तिको वैकल्पिक पेसा हुनुपर्छ, चन्दा माग्दा स्वार्थ जोडिन्छ,” उनले भने, “हामीले जनतासँग सहयोग लिने नाममा व्यापारिक घरानामा दबाब दिने अभ्यास अन्त्य गरेका छौँ।” रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट