काठमाडौँ : लिगचरणमा बेहोरेको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दशौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा बदला लिँदै रुकुम पश्चिम पुरुषमा र पुलिस महिलामा च्याम्पियन भएका हुन्। महिलामा नेपाल पुलिसले न्यु डायमण्ड क्लबमाथि ३–१ को सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो। पुरुषतर्फ फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हरायो।
पुलिस र रुकुम पश्चिम दुवैले लिग चरणमा बेहोरेको हारको बदला लिएका हुन्। लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमण्डले पुलिसमाथि ३–२ को सेटमा जितसँगै अपराजित हुँदै उपाधि भिडन्त गरेको थियो। रुकुम पश्चिम भने लिगमा हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।
महिलाको फाइनलमा मिडल ब्लक सुमित्रा रेग्मी र ओपन स्पाइकर जेनिसा विश्वकर्मा पनि चल्न सकेनन्। रिसिभ पनि राम्रो गर्न नसक्दा च्याम्पियन भएर काभा महिला क्लब च्याम्पियनसिप खेल्ने न्यु डायमण्डको लक्ष्य पूरा भएन। च्याम्पियन पुलिसले तेस्रोपल्ट च्याम्पियन हुने लक्ष्यसहित काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ।
पुनम चन्दको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सफलता पायो। रिसिभमा पनि धेरै सुधार गरेपछि पुलिसलाई न्यु डायमण्डमाथि बदला लियो। पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो बनायो तर न्यु डायमण्डले दोस्रो सेट २५–१६ ले जित्दै पुनरागमनको संकेत गर्यो।
तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो। यो सेट अन्ततः पुलिसले २५–२३ ले जित्दै फेरि अग्रता लियो। चौथो सेटमा १८–१८ स्थितिसम्म पुलिसले चुनौती दियो। यसपछि न्यु डायमण्ड समालिन सकेन र यो सेट २५–१९ ले गुमाउँदै उपाधिबाट पनि वञ्चित भयो। पुलिस चौथोपल्ट च्याम्पियन भएको हो।
पुरुषतर्फको फाइनल पनि रोमाञ्चक बन्यो। रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीनजना विदेशी खेलाडी अनुबन्ध गरेका थिए। लिगमा रुकुम पश्चिमले राम्रो गर्न सकेन तर फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्यो र पहिलोपल्ट च्याम्पियन पनि भयो।
रुकुम पश्चिम भलिबल केन्द्रले हेल्प नेपाल स्पोर्टस् क्लबलाई पहिलो सेट २९–२७, दोस्रो सेट २५–२१ र तेस्रो सेट ३२–३० को रोमाञ्चक रूपमा हरायो।
महिलामा विजेता पुलिसले र पुरुषमा विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गरे। महिलामा उपविजेता न्यु डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समान पाँच लाख रुपैयाँ पाए। एभरेष्ट महिला भलिबल क्लब र पुरुषमा नेपाल पुलिस क्लब तेस्रो भए। दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे।
नेपाल भलिबल संघ (एनभिए) को आयोजना भएको एनभिए लिगमा महिलातर्फ ६ र पुरुषमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। गत पुसमा सम्पन्न एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन्। पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपिएफ, पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बूढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए।
महिलामा भने न्यु डायमण्ड युथ स्पोर्सटस् क्लब, पुलिस, एपिएफ, सुदूरपश्चिम प्रदेश, एभरेष्ट र आर्मी क्लबको प्रतिस्पर्धा रह्यो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij