Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

पोखरामा महिला गोल्डकप सुरु, पुलिसको ८–० को शानदार जित

पोखरामा महिला गोल्डकप सुरु, पुलिसको ८–० को शानदार जित

कास्की :  देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजकमाथि ८–० को सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । पुलिसको जितमा राष्ट्रिय महिला टोलीका स्टाइकरसमेत रहेकी रेखा पौडेलले सर्वाधिक पाँच गोल गरिन् । निर्मला विक र साहारा लिम्बूले एक–एक गोल थपे।

खेलको तेस्रो मिनेटमै पुलिसकी सम्झना लावतीको प्रहार बाहिरियो । पाँचौँ मिनेटमा रेखा पौडेलले क्रस गरेको बल गोलमा परिणत भएको थियो । नवौँ मिनेटमा उनको प्रहारलाई आरएसकी गोलरक्षक प्रिया लामाले बचाउ गरिन् ।

लगत्तै दशौँ मिनेटमा रेखाको पासमा निर्मला विकले गोल गर्दै अग्रता दोब्बर पारिन् । सत्ताइसौँ मिनेटमा रेखाले पुनः गोल गरिन् । उनले ३५औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसको दुई मिनेटपश्चात् रेखाले नै पुलिसका लागि पाँचौँ गोल गरिन्।

त्यसअघि २३औँ मिनेटमा आरएसकी अनिता रानामगरको प्रहार पुलिसका डिफेन्डरले क्लियर गर्दा गोल गर्नबाट चुकिन् । २८औँ मिनेटमा अनिताले नै हेडर गरेको बल पुलिसकी गोलरक्षक उसा नाथले बचाउँदा अर्को अवसर खेर गयो ।

२९औँ मिनेटमा आरएसकी आयुषा रिउलेले प्रहार गरेको लामो सटमा उसा पुनः बाधक बनिन् । ४०औँ मिनेटमा आयोजकले अर्को अवसर खेर फाल्यो । भूमिका बुढाथोकीको पासमा वर्षा ओलीले फितलो प्रहार गर्दा गोलको अवसर गुम्यो।

खेलको सुरुआतबाटै आयोजकमाथि हाबी भएको पुलिसले पहिलो हाफमा ५–० को अग्रता कायम राख्यो । पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल उपहारस्वरुप पायो । खेलको ५०औँ मिनेटमा साहाराले गोल गरिन् ।

६०औँ मिनेटमा रेखाले व्यक्तिगत पाचौँ गोल गरिन् । उनी खेलको ‘प्लेयरअफ दी म्याच’ समेत घोषित भइन् । जितसँगै पुलिस फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको छ । आयोजक आरएस र पुलिससँगै त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबको सहभागिता रहेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबबीच दोस्रो खेल हुनेछ । उक्त खेलको विजेताले फाइनलमा पुलिसको सामना गर्नेछ । यही वैशाख २० गते हुने प्रतियोगिताको फाइनल खेलमा च्याम्पियन टोलीले नगद रु पाँच लाखको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले रु तीन लाख पुरस्कार पाउनेछन्।

त्यसैगरी, उत्कृष्ट खेलाडीले रु ३० हजार तथा उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान रु १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले रु २५ हजार पाउने आयोजक आरएस पोखराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट