चितवन : पूर्वी रत्ननगरमा रहेको रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था आगामी वैशाख २० गते हुने निर्वाचनका लागि औपचारिक रूपमा चुनावी माहोलमा प्रवेश गरेको छ। यसपटकको निर्वाचनमा पुराना राजनीतिक दलहरूको संयुक्त प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच मुख्य प्रतिस्पर्धा देखिएको छ।
पुराना दलनिकट उपभोक्ताको संयुक्त गठबन्धनबाट दीपकराज पौडेल अध्यक्ष पदका उम्मेदवार बनेका छन्। उनीहरू एकढिक्का भएर चुनावी मैदानमा उत्रिएका छन्। अर्कोतर्फ रास्वपाका तर्फबाट नन्दु केशरी खनालले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
चार जना अध्यक्ष पदका उम्मेदवारमध्ये स्वतन्त्र समूहबाट मोहनप्रसाद भट्टराई र देविराम शर्माले पनि प्रतिस्पर्धा गरिरहेका छन्। यद्यपि अन्तिम चरणमा मुख्य प्रतिस्पर्धा पौडेल र खनालबीच हुने अनुमान गरिएको छ।
उपाध्यक्ष पदका लागि रामहरि अधिकारी, प्रलाद ठाकुर र हिमालयप्रसाद खनाल प्रतिस्पर्धामा छन्। सचिव पदमा प्रताप डल्लाकोटी, टेकनाथ प्रसाईं र डिल्लीप्रसाद पाध्याको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा विरञ्जना सापकोटा घिमिरे र जयन्तीदेवी रानाभाटबीच प्रतिस्पर्धा हुनेछ। पाँच सदस्य पदका लागि १८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। लेखा समिति संयोजक तथा सदस्य पदका लागि पनि दर्जनौँ उम्मेदवार मैदानमा छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज उम्मेदवारमाथि दाबी–विरोध तथा प्रारम्भिक नामावली प्रकाशन हुनेछ। वैशाख १६ गते अन्तिम नामावली सार्वजनिक गरिनेछ भने वैशाख २० गते मतदान हुनेछ।
रत्ननगर नगरपालिकाका १३ वडाका कुल १३ हजार ५२४ उपभोक्ताले मतदान गर्नेछन्। कुल १५ हजार ३०० उपभोक्तामध्ये महसुल नतिरेका १ हजार ७७६ जनाको मताधिकार भने रोकिएको छ।
रत्ननगर खानेपानी संस्थाले नेपालकै उत्कृष्ट खानेपानी संस्थामध्ये एकको पहिचान बनाएको छ। संस्थाले पानी बिक्रीबाट वार्षिक करिब दुई करोड रुपैयाँ मुनाफा गर्दै आएको छ। चालू आर्थिक वर्षको चैत १५ गतेसम्म १ करोड ९८ लाख ६७ हजार रुपैयाँ नाफा भएको व्यवस्थापक विश्व पौडेलले जानकारी दिए।
संस्थाले अपाङ्गता भएका उपभोक्तालाई निःशुल्क धारा जडान, सामुदायिक विद्यालयलाई ५० प्रतिशत छुट तथा किस्ताबन्दीमा धारा जडानको व्यवस्था गरेको छ। साथै पानी स्रोत संरक्षणका लागि घर–घरमा पोखरी निर्माण पनि गरिएको छ। आगामी २५ वर्षसम्म खानेपानी अभाव नहुने लक्ष्यसहित ३६ करोड रुपैयाँको सहलगानी आयोजना सञ्चालनमा रहेको संस्थाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij