चितवन : चितवन जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका तरकारीले बजारमा उचित मूल्य नपाउँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। उत्पादन लागतसमेत नउठ्ने गरी मूल्य घटेपछि किसानहरू निराश बनेका हुन्।
भरतपुर महानगरपालिका–२५ बुद्धिचोककी किसान लक्ष्मी रानाभाट विगत २० वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ। उहाँका अनुसार अहिले बोडी, काँक्रो, चिचिन्डा, करेला लगायतका तरकारी प्रतिकिलो पाँच रुपैयाँसम्ममा बेच्न बाध्य हुनुपरेको छ। “यति सस्तोमा बेच्दा मजदुर खर्चसमेत उठ्दैन,” उहाँले बताउनुभयो। बाह्र विगाह क्षेत्रमा खेती गर्दै आउनुभएकी रानाभाटले बजार मूल्य नपाउँदा धेरै किसानले बारीमै तरकारी छाड्न थालेको उल्लेख गर्नुभयो।
यस्तै किसान सुमिना थापाले पनि मूल्य नपाउँदा समस्या भोग्नुपरेको बताउनुभयो। उहाँले दुई विगाह क्षेत्रमा खेती गर्दै आउनुभएको छ भने १० कठ्ठामा लगाइएको बोडी टिपेर बिक्री गर्न नसकी बारीमै छाड्नुपरेको छ। “किसानले मूल्य पाउँदैन, बिचौलिया मात्रै फाइदा लिन्छन्,” उहाँले भन्नुभयो।
किसान र उपभोक्ताबीच मूल्य अन्तर अत्यधिक रहेको भन्दै किसान संघर्ष समितिले विरोधको तयारी गरिरहेको छ। समितिका संयोजक ईश्वरी न्यौपानेका अनुसार किसानसँग प्रतिकिलो पाँचदेखि १० रुपैयाँमा किनिएको तरकारी उपभोक्तासम्म पुग्दा ७० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ।
उहाँले बिउ, मल, विषादी, मजदुरी, सिँचाइ र ढुवानी खर्चसमेत नउठ्ने अवस्था आएको भन्दै सरकारले तरकारीको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने माग गर्नुभयो। साथै चिस्यान केन्द्र स्थापना भए उत्पादन भण्डारण गरी उचित मूल्य पाउन सहज हुने उहाँको भनाइ छ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका अनुसार जिल्लामा ७७० हेक्टर क्षेत्रमा तरकारी खेती भइरहेको छ, जसमा करिब एक हजार किसान संलग्न छन्। बजार मूल्य नपाउँदा किसानहरू चिन्तित बनेको इकाईले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij