Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं : मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। संक्रमण पुष्टि भएसँगै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गर्दै नियन्त्रणका लागि कडाइका उपाय लागू गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै संक्रमण थप फैलिन नदिन तत्काल प्रतिबन्धात्मक तथा सावधानीका उपाय अवलम्बन गरिएको जानकारी दिएका छन्।

नगरपालिकाका अनुसार प्रभावित फार्म आसपासका कुखुरामा पनि समान लक्षण देखिनुका साथै केही कुखुराको मृत्यु भइसकेको छ। यसले संक्रमण फैलिने जोखिम बढाएको भन्दै सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ।

सूचनाअनुसार प्रभावित क्षेत्रबाट कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ।

त्यस्तै, कुखुरामा असामान्य बिरामीपन वा अचानक मृत्यु देखिएमा तत्काल वडा कार्यालय वा पशुपन्छी विकास शाखामा जानकारी गराउन आग्रह गरिएको छ। कुखुरा पालकलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेशमा रोक लगाउन तथा प्रवेश–निर्गमन बिन्दुमा चुना, फिनेल, सेनिटाइजर र साबुन पानीको प्रयोग गर्न निर्देशन दिइएको छ। सर्वसाधारणलाई मृत वा बिरामी कुखुरा नछुन तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

संक्रमित तथा शंकास्पद कुखुराको नष्ट तथा व्यवस्थापन तोकिएको मापदण्डअनुसार गरिने नगरपालिकाले जनाएको छ। साथै स्थानीय बजार तथा कुखुरा पसलहरूलाई सम्बन्धित निकायको अनुगमन तथा निर्देशन कडाइका साथ पालना गर्न भनिएको छ। नगरपालिकाले संक्रमण नियन्त्रण तथा रोकथामका लागि सम्पूर्ण नगरबासीको सक्रिय सहयोग आवश्यक रहेको उल्लेख गर्दै थप जानकारीका लागि पशुपन्छी विकास शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।

बर्डफ्लु कुखुरा तथा अन्य चराचुरुंगीमा लाग्ने अत्यन्त संक्रामक भाइरसजन्य रोग हो, जुन संक्रमित कुखुरा, तिनको दिसा, र्‍याल तथा दूषित वस्तुको सम्पर्कबाट सजिलै फैलिन्छ। यस रोगले कुखुरामा उच्च मृत्युदर गराउनुका साथै कुखुरापालन व्यवसायमा ठूलो आर्थिक क्षति पुर्‍याउने गरेको छ। नेपालमा पनि  बर्डफ्लुका कारण कुखुरापालन क्षेत्रमा उल्लेखनीय क्षति हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट