चितवन : चितवन क्षेत्र नम्बर ३ बाट नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रेनु दाहाल ले आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएकी छिन्।
बिहीबार प्रतिनिधिमार्फत उक्त विवरण पेश गरिएको हो। उनले निर्वाचन अभियानका क्रममा भएको सम्पूर्ण खर्च समेटेर विवरण तयार गरी सम्बन्धित निकायमा दर्ता गराएकी हुन्।
उपलब्ध विवरणअनुसार रेनु दाहालले चुनावी गतिविधिमा कुल १४ लाख ६६ हजार ७ सय रुपैयाँ खर्च गरेको उल्लेख गरिएको छ। उक्त खर्च प्रचारप्रसार, सभा–सम्मेलन, कार्यकर्ता परिचालन, यातायात, प्रचार सामग्री निर्माण तथा अन्य व्यवस्थापनका काममा गरिएको बताइएको छ।
अधिवक्ता गोपीलाल देवकोटा का अनुसार चैत ५ गते नै कानुनअनुसार तोकिएको समयसीमाभित्र उक्त खर्च विवरण निर्वाचन कार्यालयमा बुझाइएको हो। उनले निर्वाचन ऐनअनुसार उम्मेदवारहरूले आफ्नो आय–व्यय पारदर्शी बनाउन खर्च विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए।
निर्वाचन आयोगले उम्मेदवारहरूलाई निश्चित खर्च सीमा तोक्ने र त्यसअनुसार विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। यसले निर्वाचन प्रक्रियालाई पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।