म्याग्दी : पूर्व शिक्षामन्त्री महावीर पुनले अरूलाई धोका दिनका लागि होइन, बरु धोका नदिनकै लागि सरकार छाडेको स्पष्ट पार्नुभएको छ। मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुनले आफूविरुद्ध लागेका ‘धोकेबाज’ र ‘भगौडा’ जस्ता आरोपको खण्डन गर्नुभएको हो।
म्याग्दीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारमा बसेर प्रभावकारी रूपमा काम गर्न नसकिने अवस्था आएपछि पदमा टाँसिरहनु उपयुक्त नहुने बताउनुभयो। “मलाई कसैले धोकेबाज भन्यो, कसैले भगौडा। मन्त्रिपरिषद् र जेनजीलाई धोका दिएको आरोप पनि लगाइयो। तर म धोका दिन होइन, धोका नदिनकै लागि सरकारबाट बाहिरिएको हुँ,” उहाँले भन्नुभयो।
सरकारमा रहँदा आफ्ना योजना र कार्यक्रम अघि बढाउन नसकिएपछि नै मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेको पुनको भनाइ छ। उहाँले शान्तिपूर्वक राजीनामा दिएर म्याग्दी निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको थियो।
त्यसपछि आफूविरुद्ध चुनावी सरकारलाई धोका दिएको र पदको लोभमा उम्मेदवारी दिएको आरोप लाग्न थालेको उल्लेख गर्दै पुनले सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति पनि प्रतिक्रिया दिनुभयो। एक व्यक्तिले ‘महावीर पुनको महा पनि रहेन, वीर पनि रहेन’ भनेर लेखेको प्रसंग उल्लेख गर्दै पुनले सो टिप्पणी गर्ने व्यक्ति नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा चिनिएका विद्वान रहेको बताउनुभयो।
पत्रकार सम्मेलनमा पुनले जनताको विश्वास, इमानदारी र जवाफदेही राजनीतिलाई सबैभन्दा ठूलो मूल्य मान्दै आगामी निर्वाचनमा त्यसैका लागि उम्मेदवार बनेको स्पष्ट पार्नुभयो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij