काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुन एक दिन मात्र बाँकी रहँदा पूर्व शिक्षामन्त्री तथा रास्वपाकी पूर्वनेतृ सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन्।
उनी र गगन थापा नेतृत्वको कांग्रेस शीर्ष नेताबीच पार्टी प्रवेश वा सम्भावित चुनावी सहकार्यबारे छलफल भइरहेको छ।
स्रोतका अनुसार, सभापति गगन थापासहितका नेताहरूसँग भइरहेको संवाद कांग्रेसको उम्मेदवार छनोट प्रक्रियालाई थप जटिल र रोचक बनाएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला तीनै पक्षले उम्मेदवारको सूची तयार गर्दै गर्दा सुमना श्रेष्ठसँगको छलफलले पार्टीभित्र तरंग पैदा गरेको बताइएको छ।
सुमनाले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि रास्वपा सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेकी थिइन्। नख्खु कारागारबाट रवि लामिछानेको बलजफ्ती निस्किने घटनामा समेत उनले आपत्ति जनाएकी थिइन्।
रास्वपा छाडेपछि सुमना श्रेष्ठ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहको समूह र ‘उज्यालो नेपाल’ अध्यक्ष कुलमान घिसिङसँग निकट देखिएकी थिइन्। एक समय बालेन्द्रको समूहमा मिसिएर रास्वपामै फर्किने चर्चा चले पनि रवि लामिछानेले उनलाई स्वीकार नगरेपछि त्यो सम्भावना टुटेको बताइन्छ।
प्रतिनिधिसभा उम्मेदवारी दर्ताको अन्तिम समय नजिकिँदै गर्दा सुमना–कांग्रेस संवाद अन्तरपार्टी रणनीतिमा महत्वपूर्ण मोड हुनसक्ने बुझिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij