Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कांग्रेस चितवनका सभापति भन्छन्– विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ

कांग्रेस चितवनका सभापति भन्छन्– विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्छ

चितवन : नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीको केन्द्रीय विशेष महाधिवेशनका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरी आगामी निर्वाचनमा जानुपर्ने आवश्यकता औंल्याएका छन्।

खनालका अनुसार २०८२ भाद्र २३ र २४ पछिको राजनीतिक परिस्थितिका कारण कांग्रेसभित्र महाधिवेशनको विषय गम्भीर बनेको छ। पार्टीको १४औँ महाधिवेशनको कार्यकाल मंसिर मसान्त २०८२ सम्म समाप्त हुने भएकाले नियमित महाधिवेशन नै उपयुक्त निकास भएको उनको भनाइ छ। यदि त्यो सम्भव नभए विशेष महाधिवेशनमार्फत भए पनि केन्द्रीय समितिबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने उनको जोड छ। यसै सन्दर्भमा नेपाली कांग्रेस चितवनले करिब ९० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा भेलाको आयोजना गरी हस्ताक्षरसहित केन्द्रमा पत्राचार गरिसकेको सभापति खनालले जानकारी दिए।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माद्वारा पार्टी विधानको धारा १७(२) अनुसार आह्वान गरिएको पौष २७ र २८ गतेको दोस्रो विशेष अधिवेशनबारे आफ्नो धारणा स्पष्ट पार्दै खनालले केन्द्रीय शीर्ष नेताहरूको उपस्थितिलाई अनिवार्य बताएका छन्। केन्द्रीय नेतृत्व सहभागी भए आफू पनि सभापतिको हैसियतले अधिवेशनमा सहभागी हुने उनले स्पष्ट पारे।

साथै, उनले महाधिवेशन प्रतिनिधिहरू विवेकशील रहेको र पार्टीको विगत तथा वर्तमानको मूल्यांकन गर्दै जिम्मेवार निर्णय लिने विश्वास व्यक्त गरे। विशेष महाधिवेशन बाध्यकारी भए पनि त्यसको नतिजाले थप जटिल अवस्था सिर्जना गर्न सक्ने सम्भावनातर्फ समेत उनले केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

यसैबीच, सभापति खनालले केही सञ्चार माध्यमले आफूले नबोलेका भ्रामक अभिव्यक्ति प्रचार गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। साथै, पार्टीभित्रकै केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रमाथि आँच आउने गरी टिप्पणी गरेकोप्रति घोर भर्त्सना गर्दै त्यस्ता गतिविधि बन्द गर्न आग्रह गरेका छन् । उनले नेपाली कांग्रेस चितवनभित्र एकता कायम रहेको र त्यसलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य नहुने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट