काठमाडौं : रौतहटको फतुवा बिजयपुर नगरपालिकामा प्रहरीले नै संरक्षण दिएर दैनिक लाखौँ रुपैयाँको अवैध कौडा जुवा सञ्चालन गराइरहेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय बिजयपुरका इन्सपेक्टर सुरेन्द्र यादव र सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरका इन्सपेक्टर विकास श्रेष्ठको सीधा मिलेमतोमा पछिल्लो एक महिनादेखि अवैध जुवा धन्दाले फस्टाएको स्रोतले बताएको छ । बिजयपुरका शिवशंकर यादव, कटहरिया–५ का शिवशंकर साह सोनार, र कटहरिया–२ जमुनियाका चन्द्रकिशोर कुशवाहाले संयुक्त रूपमा गत दशैँदेखि नै बिजयपुर–लक्ष्मिनिया मुसहरी टोलमा कौडा जुवा सञ्चालन गर्दै आएका छन्।
स्थानीयका अनुसार, जुवाको सुरक्षा र निगरानीको जिम्मा प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय गरुडाका केही घुमुवा प्रहरीलाई दिइएको छ। उनीहरूले प्रहरीहरूलाई नियमित रूपमा ठूलो रकम बुझाइने गरेको पनि खुलासा गरेका छन्।
दैनिक लाखौँको कारोबार, ‘प्रहरी-पत्रकारको हिस्सा’ भन्दै उठाइन्छ रकम
स्रोतका अनुसार, जुवा प्रायः दिउँसो १ बजेदेखि साँझसम्म गोविन्द देव माझीको घरमा सञ्चालन हुन्छ। कहिलेकाहीँ रातभर शिवशंकर यादवको घरमै जुवा चलाइने गर्दछ। एक जुवाडेले नाम नखुलाउने सर्तमा भने, ‘जितेको रकमबाट १० प्रतिशत कमीशन काटिन्छ। त्यसबाहेक दैनिक करिब १५ हजार रुपैयाँ ‘प्रहरी र पत्रकारको हिस्सा’ भन्दै उठाइन्छ।’
भारत–नेपाल सीमा क्षेत्रका जुवाडेहरूको सक्रियता
जुवा खालमा रौतहटका राजापुर, नरकटीया, कटहरिया, बालचनपुर, बिजयपुरका साथै भारतका बरियारपुर, बघवन, गंजभवानीपुरका जुवाडेहरू समेत सहभागी हुने गरेको स्थानीयहरूले बताएका छन्। उनीहरूको भनाइमा, जुवामा दैनिक लाखौँ रुपैयाँको हारजित हुने गर्छ।
स्थानीयवासीहरू भन्छन्- बारम्बार मौखिक उजुरी गरे पनि कुनै कारबाही नहुँदा जुवा प्रहरीकै संरक्षणमा खुलेआम हुँदै आएको छ। उनीहरूको आरोप छ, ‘प्रहरी र प्रशासनकै साँठगाँठ नभएको भए यति ठूलो जुवा रोकिन्थ्यो।’ यसबारे जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले भने, ‘हामीले घटनाबारे जानकारी लिएका छौँ। वास्तविक तथ्य बुझेर आवश्यक कारबाही गर्छौँ। गैरकानुनी काम कुनै हालतमा हुन दिइने छैन।’
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij