जनकपुर : जनकपुरमा सोमबार राति एक जनाले खुकुरी प्रहार गरी एक किशोरीको हत्या गरेका छन् भने दुई बालिकालाई गम्भीर घाइते बनाएका छन् ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुर उपमहानगरपालिका–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा राति साढे ११ बजे अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् ।
उनको खुकुरी प्रहारबाट सोही घरमा डेरा गरी बस्ने अञ्जलीकुमारी यादवको घटनास्थलमै मृत्यु भएको हो । १५ वर्षीया अञ्जली दिनेश यादवकी छोरी हुन् । प्रहरीले जनाएको छ, अञ्जलीको घाँटी चिर्ने गरी खुकुरी प्रहार गरिएको थियो ।साहले अञ्जलीकी आमा, ३५ वर्षीया आशा यादवमाथि पनि खुकुरी प्रहार गरेका छन् । उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
यसैगरी, सोही कोठामा डेरा गरी बस्ने १४ वर्षीया राधा यादवमाथि समेत खुकुरी प्रहार गरिएको छ । उनी धनुषाको मिथिला नगरपालिका–१ ढल्केवरकी हुन् । राधाको दाहिने हात र घुँडामा गम्भीर चोट लागेको छ ।
दुबै घाइतेको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । रामबाबु साह घटनापछि फरार छन् । प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ ।साह विगतमा आफ्नै श्रीमतीको हत्या अभियोगमा पाँच वर्ष जेल सजाय भुक्तान गरेर छुटेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij