होन्डुरस : मध्य अमेरिकी देश होन्डुरसमा शनिबार यात्रुवाहक बस पिकअप ट्रकसँग ठोक्किएर सडकबाट खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्।
होन्डुरसको अग्निनियन्त्रण विभागका अनुसार दुर्घटनामा बस चालक, अन्य तीन पुरुष र पाँच महिलाको मृत्यु भएको छ।दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन। उद्धारमा खटिएका एक कर्मचारीका अनुसार बस खोंचमा खस्ने क्रममा केही यात्रु गाडीबाट बाहिर उछिट्टिएका थिए।
क्यारोलिना यातायात कम्पनीद्वारा सञ्चालित उक्त बस राजधानी तेगुसिगाल्पाबाट पश्चिमतर्फ करिब १७० किलोमिटर दूरीमा रहेको ला एस्पेरान्सा सहर जाँदै थियो।
होन्डुरसको कोमायागुआ विभागअन्तर्गत पर्ने पहाडी क्षेत्रमा रहेको तीव्र मोड र घुमाउरो सडकखण्डमा दुर्घटना भएको हो।
मध्य अमेरिकामा पछिल्लो समय भएका गम्भीर बस दुर्घटनाको शृङ्खलामध्ये यो पछिल्लो घटना हो। यस क्षेत्रमा सडक दुर्घटनाका कारण ठूलो संख्यामा मानिसको ज्यान जाने घटनाहरू भइरहेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij