काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमा विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति हाबी भएको बताएका छन् । शनिबार काठमाडौँमा दीपेन्द्र रोकाया र मोहन दास मानन्धरद्वारा लिखित ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक लोकार्पण गर्दै प्रचण्डले विगतमा वर्षमा भएको सुशासन र विकासका क्षेत्रमा केहि पनि काम भएन भन्ने विवेकहीन, अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी भएको बताएका हुन् ।
उनले आफ्नो नेतृत्वको सरकारलाई भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्त गरिएको समेत उल्लेख गरे । वर्तमान सरकारको कार्यशैलिप्रति असन्तुष्ट व्यक्त गर्दै प्रचण्डले सरकारका कामकाज हेर्दा हिन्दी जासुसी फिल्म जस्तो देखिएको तर्क गरे । सरकारले हुँदै नहुने विचित्रको काम देखाउन थालेको उनले बताए ।
उनले भने, ‘सरकारको कामकारबाही हिन्दी जासुसी फिल्म तपाईंहरुले हेर्नुभएको होला ! विचित्रको हुँदै नहुने कामहरु भएको देखाउँछन् नी ! त्यस्तै छ सरकारको काम गराइ । कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कर्मचारीतन्त्रमाथि के हुने हो, नेताहरुमाथि के हुने हो, कता के हुने हो केही टुंगो छैन । आफैँ, आफैँ...यस्तो अवस्था सिर्जना भएको छ ।’
प्रचण्डले सुशासनका बिरुद्ध लड्दा आफुहरुलाई अपदस्थ गरेकै कारण अहिले देश दुर्घटनामा गएको धारणा राखे । उनले कर्णालीको विकासका लागि आफुले बिगत देखि नै काम गरेको र शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा निकै प्रगति भएको बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij