Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि मनोमानीको आरोप, भुक्तानी विवादले चर्कियो तनाव

वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि मनोमानीको आरोप, भुक्तानी विवादले चर्कियो तनाव

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहराको कार्यशैली र कार्यालय सञ्चालनको तौरतरिकालाई लिएर विवाद चुलिएको छ। लामो समयदेखि कार्यालयमा नियमित उपस्थित नभएको र महानगरपालिकाको कामकाज निवासबाटै सञ्चालन गर्ने गरेको आरोप उनीमाथि लागेको छ।

प्राप्त विवरणअनुसार, लेखापालद्वय रामकुमार कुशवाहा र रूपनारायण पटेल, योजना अधिकृत अवधेश कुशवाहालगायत केही कर्मचारी प्रमुख प्रशासकीय अधिकृत बोहराको निवासमै बसेर भुक्तानीसम्बन्धी काम गर्ने गरेको बताइएको छ। आफू निकटका व्यक्ति तथा कमिसन बुझाउने पक्षको भुक्तानीलाई प्राथमिकता दिइएको आरोपसमेत लागेको छ। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

अर्कोतर्फ, भुक्तानी पाउन बाँकी रहेका ठेकेदार तथा सप्लायर्सहरूले आफ्नो रकम प्राप्त गर्न सम्बन्धित अधिकारी र लेखापालको खोजीमा भौँतारिनुपरेको गुनासो गरेका छन्। यसैबीच, बिहीबार राति करिब ११ बजे आदर्शनगर चोकस्थित लक्ष्मी बैंक रहेको भवनमा प्रमुख प्रशासकीय अधिकृत बोहरा र सप्लायर्स निराजन अधिकारीसहितको टोलीबीच विवाद भएको बताइएको छ। प्राप्त विवरणअनुसार, भुक्तानी तथा कागजातसम्बन्धी विषयमा विवाद चर्किएपछि भनाभन र हातपातसमेत भएको आरोप छ।

उक्त घटनामा रामप्रसाद कुशवाहामाथि कुटपिट भएको र प्रमुख प्रशासकीय अधिकृत बोहरामाथि समेत धक्कामुक्की भएको दाबी गरिएको छ। घटनापछि बोहरा आफ्नो टोलीसहित सिमरा गएको र शुक्रबार काठमाडौं गएको बताइएको छ। तर घटनाको विस्तृत विवरण तथा संलग्न व्यक्तिहरूबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष सञ्जु छतकुलीले शुक्रबार लेखापालहरू कार्यालयमा उपस्थित नभएको र बिहीबार राति प्रमुख प्रशासकीय अधिकृतको निवासमा विवाद तथा झगडा भएको सूचना राति ११ बजेर ५३ मिनेटमा प्राप्त भएको जानकारी दिएका छन्।

त्यस्तै, वडा नम्बर २५ का अध्यक्ष आशुतोष चतुर्वेदीले प्रमुख प्रशासकीय अधिकृत बोहराको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले बोहराको कथित मनोमानी व्यवहारका कारण नगरवासी, ठेकेदार तथा तल्लो तहका कर्मचारीहरूले समस्या भोग्नुपरेको बताएका छन्।

प्रमुख प्रशासकीय अधिकृत बोहरा मंसिर १२ गते मात्र कार्यालय फर्किने हल्ला आफूले सुनेको उल्लेख गर्दै चतुर्वेदीले बिहीबार राति बोहराको टोली र सप्लायर्सबीच विवाद भएको विषय पनि आफूले जानकारी पाएको बताए । महानगरपालिकाको प्रशासनिक कामकाज, रोकिएका भुक्तानी तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यालय उपस्थितिसम्बन्धी विषयमा उठेका प्रश्नले स्थानीय तहको सेवा प्रवाह र आर्थिक पारदर्शितामाथि चासो बढाएको छ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत बसन्त बोहरा, सम्बन्धित लेखापाल तथा अन्य कर्मचारीको आधिकारिक प्रतिक्रिया प्राप्त हुन बाँकी छ। आरोपहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट