जनकपुरधाम : जनकपुरधाम र भारतको अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्ने तयारीले गति लिएको छ।
प्रस्तावित रेल सेवाको प्राविधिक अवस्था र सञ्चालन सम्भाव्यता जाँच्न बिहीबार १७ बोगीसहितको भारतीय रेलले जनकपुरधाम कुर्थासम्म ट्रायल रन गरेको छ।
रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहेका जनकपुरधाम र अयोध्यालाई रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत गरिएको यो परीक्षणलाई सेवा सञ्चालनतर्फको महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ। रेल सेवा सञ्चालनमा आएमा नेपाल र भारतका दुई प्रमुख धार्मिक शहरबीच यात्राको दूरी र झन्झट घट्ने अपेक्षा गरिएको छ।
भारतीय पूर्वमध्य रेल्वे (इस्ट सेन्ट्रल रेलवे) हाजीपुरका अतिरिक्त महाप्रबन्धक अमरेन्द्र कुमारको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले रेलमार्गको अवस्था, प्राविधिक पक्ष तथा सञ्चालनसँग सम्बन्धित विषयहरूको परीक्षण गरेको थियो।
टोलीमा प्रधान मुख्य परिचालन प्रबन्धक इन्दुरानी दुबे, प्रधान मुख्य सुरक्षा आयुक्त तथा आरपीएफ महानिरीक्षक अमरेश कुमार, प्रमुख पुल इन्जिनियर एमडी जावेद, प्रमुख सिग्नल इन्जिनियर अतुलकुमार वर्मा र प्रमुख रोलिङ स्टक इन्जिनियर राजेश कुमारलगायत सहभागी थिए। समस्तीपुर रेल मण्डलका मण्डल रेल प्रबन्धक ज्योतिप्रकाश मिश्रसहित विभिन्न विभागका अधिकारी तथा प्राविधिक कर्मचारी पनि परीक्षणमा खटिएका थिए। भारतीय दूतावास काठमाडौंका कुमार गौरव सहभागी थिए।
नेपालतर्फ नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक परिवेश पराजुलीको नेतृत्वमा प्रशासन, सुरक्षा, भन्सार र प्राविधिक क्षेत्रका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। टोलीमा सहायक जिल्ला अधिकारी भूदेव झा, धनुषाका प्रहरी उपरीक्षक रूपेश खड्का, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक मनिकुमार राईलगायत थिए।
नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक पराजुलीले ट्रायल रन सम्पन्न भएसँगै रेल सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार अब दुवै देशका सम्बन्धित निकायबीच समन्वय गरेर सेवा सञ्चालनको तयारीलाई अन्तिम चरणमा पुर्याइनेछ।
उनले रेल सञ्चालनका लागि अन्तिम लाइसेन्स प्राप्त गर्न बाँकी रहेको जानकारी दिँदै भन्सार, सुरक्षा र सञ्चालन व्यवस्थापनका विषयमा छलफल भइरहेको बताए। साथै, सञ्चालन प्रक्रिया (अपरेसन प्रोसिजर)लाई अन्तिम रूप दिएपछि सेवा सञ्चालनको बाटो थप सहज हुने उनको भनाइ छ।
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन भए धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। जनकपुरधाम माता जानकीको जन्मभूमि र अयोध्या भगवान् श्रीरामको जन्मभूमिका रूपमा परिचित भएकाले यी दुई सहरलाई रेलमार्गले जोड्दा रामायण सर्किटको धार्मिक पर्यटन थप प्रभावकारी बन्ने नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष अशोक रौनियारले बताए।
उनका अनुसार यसले नेपाल र भारतका तीर्थयात्रीबीच आवागमन सहज बनाउनुका साथै धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउनेछ।
त्यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष मनीषरमण साहले रेल सेवा सञ्चालनले धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए। तीर्थयात्री तथा पर्यटकको संख्या बढ्दा होटल, यातायात, व्यापार र स्थानीय व्यवसायले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ।
रेल सेवा सञ्चालनमा आएमा जनकपुरधामको धार्मिक पहिचानलाई अन्ताराष्ट्रिय स्तरमा थप प्रवर्धन गर्ने अवसर मिल्नेछ। यसका साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक यातायात सञ्जालमार्फत जोड्ने योजनाले मधेश प्रदेशको पर्यटन विकासमा नयाँ सम्भावना सिर्जना गर्नेछ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij