विराटनगर : जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन तथा मौलिक खेलको संरक्षण गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ ।बराहक्षेत्र नगरपालिका–११ मधुवनस्थित तीनटोलिया पोखरीमा आगामी कात्तिक २४ गते गोवर्द्धन पूजाका दिन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चतरा हाइकिङ समूहले जनाएको छ । प्रतियोगिता बिहान १० बजेदेखि सुरु हुनेछ ।प्रतियोगिता यस वर्ष चौथो संस्करणका रूपमा आयोजना हुन लागेको हो । यसअघि सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन तथा जैविक विविधता संरक्षणको अभियानसँग जोडेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
यस वर्ष मधुवन क्षेत्रको प्रचारप्रसारसँगै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने लोपोन्मुख पानीचरा ‘सीम तित्रा’ (स्वाम्प फ्रान्कोलिन) को प्रवर्द्धन गर्ने उद्देश्यसमेत प्रतियोगिताले लिएको आयोजकले जनाएको छ ।प्रतियोगितामा विजेताले नगद २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने प्रतियोगीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
स्टोन स्किपिङ पानीमा चेप्टो ढुङ्गा निश्चित कोण र गतिमा फ्याँकेर पानीको सतहमा कति पटक उफार्न सकिन्छ भन्ने आधारमा प्रतिस्पर्धा गरिने खेल हो । विश्वका विभिन्न देशमा नदी, ताल तथा समुद्री किनारमा खेलिने यो मनोरञ्जनात्मक खेलको अभ्यास प्राचीन युनानी तथा रोमन सभ्यतासम्म पुगेको मानिन्छ ।प्रतियोगितालाई औपचारिक प्रतिस्पर्धाको स्वरूप दिने प्रयास चतराबाट सुरु गरिएको आयोजकको भनाइ छ । विश्व कीर्तिमानसम्बन्धी विवरणअनुसार अमेरिकी नागरिक कर्ट स्टेटनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर कीर्तिमान कायम गरेका थिए ।
आयोजकले प्रतियोगितामा खेलप्रेमी, प्रतिस्पर्धी, स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई सहभागी भई खेलको अवलोकन गर्न आग्रह गरेको छ । प्रतियोगिता चतरा हाइकिङ समूहको आयोजनामा तथा हाम्रो एकता युवा क्लब बराहक्षेत्र–११ मधुवनको सहआयोजनामा हुन लागेको साे समूहका संयाेजक भीषण राईले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij