काठमाडौँ : नेपालले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल र नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले विश्व पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को सन् २०२६ को साधारणसभामा नेपालको प्रस्ताव अघि सारेका हुन् ।
मन्त्री पौडेलले बिहीबार साँझ काठमाडौंमा आयोजित साधारणसभामा नेपालका थप ६ हिमाललाई छुट्टै ८ हजार मिटर अग्ला हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल भइरहेको बताए । एनएमएका अध्यक्ष शेर्पाले पनि यूआईएको कार्यकारी बोर्डसमक्ष सम्बोधन गर्दै प्रस्तावित हिमालहरूको औपचारिक मूल्यांकन र अन्तर्राष्ट्रिय मान्यताका लागि आग्रह गरेका हुन् ।
नेपालको प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या हालको १४ बाट बढेर २० पुग्नेछ । त्यस्तै, नेपालमा मात्र ८ हजार मिटरभन्दा अग्ला हिमालको संख्या ८ बाट बढेर १४ पुग्नेछ । यससँगै विश्वका २० अग्ला हिमालमध्ये १४ वटा नेपालमा रहेको पहिचान स्थापित हुनेछ ।
एनएमए अध्यक्ष शेर्पाले प्रस्ताव गरेका ६ हिमालमध्ये चारवटा कञ्चनजङ्घा क्षेत्रमा र दुईवटा सगरमाथा–ल्होत्से क्षेत्रमा पर्छन् । प्रस्तावित ६ हिमाल र तिनको उचाइ यस्तो रहेको छ : कञ्चनजङ्घा दक्षिण (८ हजार ४ सय ७६ मिटर), कञ्चनजङ्घा पश्चिम (८ हजार ७७ मिटर), कञ्चनजङ्घा मध्य (८ हजार ४ सय ७३ मिटर) र यालुङ काङ (८ हजार ५ सय ९५ मिटर) । त्यस्तै, सगरमाथा–ल्होत्से क्षेत्रमा ल्होत्से मध्य (८ हजार ४ सय १० मिटर) र ल्होत्से शार (८ हजार ४ सय मिटर) रहेका छन् ।
अध्यक्ष शेर्पाका अनुसार यी सबै हिमालका आफ्नै नाम, भौगोलिक पहिचान र छुट्टाछुट्टै शिखर पुग्ने आरोहण मार्ग छन् । एउटा शिखर आरोहण गर्दैमा अर्को शिखर पुगेको नमानिने भएकाले प्रत्येकलाई छुट्टै पर्वतारोहण गन्तव्यका रूपमा मूल्यांकन गर्नुपर्ने उनको तर्क छ ।
‘यी हिमाललाई छुट्टै मान्यता दिन खोज्नुको उद्देश्य केवल अन्तर्राष्ट्रिय सूचीमा हिमालको संख्या बढाउनु होइन,’ उनले उक्त समारोहमा भने, ‘तिनको छुट्टै पहिचान, स्थानीय नाम, भौगोलिक विशेषता र छुट्टाछुट्टै शिखर पुग्ने आरोहण मार्गले निष्पक्ष र व्यावसायिक मूल्यांकन नेपालले पाउनुपर्छ ।’
उनले ८ हजार मिटरभन्दा माथिको आरोहण असाधारण चुनौतीपूर्ण हुने उल्लेख गर्दै प्रत्येक छुट्टै शिखरको आरोहणलाई स्वतन्त्र पर्वतारोहण उपलब्धिका रूपमा मूल्यांकन गर्नुपर्ने बताए । त्यस्तो उचाइमा पुग्न असाधारण शारीरिक क्षमता, प्राविधिक दक्षता, अनुभव र सावधानीपूर्वक तयारी आवश्यक पर्ने उनको भनाइ छ ।
अध्यक्ष शेर्पाले यस विषयमा संघका पूर्वअध्यक्ष तथा पूर्वकार्यसमिति सदस्यहरूले वर्षौंदेखि आवाज उठाउँदै आए पनि अपेक्षित अन्तर्राष्ट्रिय मान्यता र प्रतिक्रिया प्राप्त हुन नसकेको बताए । यसपटक प्रस्तावलाई अघि बढाउन एनएमएले विशेषज्ञहरूको टोलीसमेत गठन गरेको छ । मधुसूदन अधिकारीको नेतृत्वमा ५ सदस्यीय विशेषज्ञ टोलीले प्रस्तावित ६ हिमाललाई छुट्टाछुट्टै मान्यता दिनुपर्ने आधार र औचित्यबारे विस्तृत प्रस्तुति गरेको थियो ।
मन्त्री पौडेलले थप हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने पहलले नेपालको पर्वतीय पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण, साहसिक पर्यटन, हिमाली अनुसन्धान र पर्यटन प्रवर्द्धनका नयाँ सम्भावना खोल्ने बताएका छन् । ‘नेपाललाई विश्वका सर्वोच्च हिमालहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुग्ने विश्वास लिएका छौँ,’ मन्त्री पौडेलले भने ।
उनले हिमालको अन्तर्राष्ट्रिय पहिचान र वर्गीकरणसँगै जलवायु परिवर्तनका कारण बढ्दो हिमाली जोखिम, प्राकृतिक सम्पदाको संरक्षण तथा पर्वतीय समुदायको जीविकोपार्जनका विषयलाई पनि अन्तर्राष्ट्रिय बहसमा जोड्नुपर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण संघको आतिथ्यमा काठमाडौंमा आयोजित यूआईएको सन् २०२६ को साधारणसभामा क्यानडा, भारत, माल्टा, अर्जेन्टिना, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, स्विट्जरल्यान्ड, बेलायत, बेल्जियम, संयुक्त राज्य अमेरिका, अल्बानिया, बंगलादेश, चिली, क्रोएसिया, साइप्रस, डेनमार्क, फ्रान्स, जर्जिया, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, इटली, जापानलगायतका देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालासहित झन्डै ६० जना सहभागी छन् ।
नेपालले यसअघि सन् १९८२ र २०११ मा पनि यूआईएको साधारणसभा आयोजना गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij