काठमाडौं : अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’को उपाधिबाट सम्मानित गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले शनिबार राजधानीमा आयोजना गर्न लागेको ‘मिसेस नेपाल वर्ल्ड २०२६’को कार्यक्रममा उनलाई उक्त उपाधि दिन लागिएको हो ।नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन् । सन् १९९३मा तुलसी घिमिरे निर्देशित फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुलदाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय मार्फत नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन् ।
अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक वंशको शीर्षगीतमा स्वर दिएकी छन् । उनले दीपशिखा नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।नेपाली फिल्म क्षेत्रमा उनले पुर्याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै उनलाई मानार्थ ‘मिसेस नेपाल वल्र्ड २०२६’को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी दिए ।यसअघि अभिनेत्रीहरु करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वल्र्डबाट सम्मानित गरिएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij