Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन

काभ्रेपलान्चोक :  खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न काभ्रेपलान्चोकका व्यवसायीलाई निर्देशन दिएको छ ।

जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख सहर बनेपाका मिठाई पसलको अनुगमनपश्चात कार्यालयले यस्तो निर्देशन दिएको हो । कार्यालयका प्रमुख मनिषा चापागाईँले मिठाई उत्पादन गर्दा प्रयोग गरिएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको विवरण, उपभोग गरिसक्नुपर्ने मिति र बिक्री मूल्य ग्राहकले सहजै देख्न सक्नेगरी मिठाइको सोकेस वा काउन्टरमा राख्न निर्देशन दिइएको बताइन ।

अनुगमनका क्रममा कार्यालयले मिठाई व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ । तारेर वा पकाएर तयार गरिने मिठाइमा सिन्थेटिक खाद्य रङ प्रयोग नगर्न, मिठाइलगायत खाद्य पदार्थ प्याक गर्न छापिएका कागज तथा पत्रपत्रिका प्रयोग नगर्न र खाद्य पदार्थ तार्न एउटै तेल पटकपटक प्रयोग नगर्न व्यवसायीलाई सचेत गराइएको चापागाईँले बताए । साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को पालना गर्न र गराउन पनि कार्यालयले निर्देशन दिएको छ ।

मिठाइमा प्रयोग भएका सामग्री तथा मूल्यबारे उपभोक्तालाई स्पष्ट जानकारी उपलब्ध गराउने र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो । यसले उपभोक्तालाई आफूले खरिद गर्न लागेको मिठाइको गुणस्तर, प्रयोग भएका सामग्री र मूल्यबारे जानकारी लिएर खरिद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तिहार तथा छठ पर्वमा अन्य समयको तुलनामा मिठाइको खपत बढी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट