Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

दसैँअघि दुग्ध किसानले पाए बक्यौता रकम, यसपटक खुसीसाथ चाड मनाउँदै किसान

दसैँअघि दुग्ध किसानले पाए बक्यौता रकम, यसपटक खुसीसाथ चाड मनाउँदै किसान

काठमाडौँ :  नेपालीहरूको महान् चाड बडादसैँ घरआँगनमा भित्रिँदै गर्दा यसपटक देशभरका दुग्ध किसान विगतको तुलनामा खुसी छन् । विगतका करिब चार वर्ष दसैँको मुखमा आफूले बेचेको दुधको लाखौँ रकम नपाएर रित्तो हात चाड मनाउन बाध्य हुँदै आएका किसानले यसपटक भने समयमै आफ्नो भुक्तानी पाएका छन् ।
वर्षभरि गाईभैँसीको स्याहारसुसार गरेर उत्पादन गरेको दुधको मूल्य चाडबाडको बेलामा समेत नपाउँदा विगतका वर्ष किसानहरूको दसैँ अत्यन्तै खल्लो र पीडादायी हुने गरेको थियो । यसपटक दुग्ध विकास संस्थान (डीडीसी) लगायतका निजी डेरी उद्योगले किसानको बक्यौता रकम धमाधम फरफारक गरेपछि गाउँघरमा दसैँको वास्तविक उल्लास छाएको छ ।

दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार यस वर्ष विगतको जस्तो किसानलाई तिर्नुपर्ने ठुलो बक्यौता रकम बाँकी छैन । संस्थानको नियमित भुक्तानी चक्रअन्तर्गतको करिब २० देखि २५ करोड रुपैयाँमात्र तिर्न बाँकी रहेको र त्यो एउटा सामान्य व्यावसायिक प्रक्रियामात्रै भएको उनले स्पष्ट पारे ।

बजारमा अहिले डीडीसीका उत्पादनको माग निकै राम्रो रहेको र व्यापार पनि बढेका कारण बजारको अवस्था उत्साहजनक रहेको उनको भनाइ छ ।

दसैँ बिदाको समयमा पनि दुध सङ्कलन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन संस्थानले विशेष बन्दोबस्त मिलाएको छ । बिदाका कारण सङ्कलन र व्यवस्थापनमा कुनै अवरोध नआओस् भनेर पूर्वतयारी गरिसकिएको महाप्रबन्धक पाण्डेले बताए । विगतका वर्षमा पैसा नपाएर निराश हुने गरेका किसानहरूले यसपटक दसैँअघि नै आफ्नो पसिनाको कमाइ हात पारेर खुसीसाथ चाड मनाउन पाउँदा आफूलाई पनि सन्तुष्टि मिलेको उनले बताए ।
यता, लामो समयदेखि पशुपालन गर्दै आएका काभ्रेका अगुवा किसान नारायण नेपालले पनि यसपटकको दसैँ किसानहरूका लागि निकै सुखद रहेको बताए । विगतका वर्षहरूमा आफ्नो दुधको पैसा माग्न सडक आन्दोलनमै उत्रिनुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिले भने करिब ९० प्रतिशत बक्यौता रकम किसानको हातमा परिसकेको बताए ।
केही समयअघिसम्म दुग्ध उत्पादक सहकारी सङ्घमार्फत किसानहरूले डीडीसी र निजी डेरीबाट पैसा नपाएको भन्दै गुनासो गर्ने गरेको भए पनि, यो दसैँमा भने निजी डेरी र सरकारी संस्थान दुवैले धमाधम पैसा पठाएका कारण किसानले ठुलो राहत महसुस गरेका छन् ।
आफैँले बेचेको दुधको पैसा समयमै पाउँदा पनि किसानले ठुलो युद्ध जितेझैँ खुसी हुनुपर्ने अवस्था छ । कम्तीमा यसपटक चाडबाडको मुखमा खल्ती रित्तो नभएकोमा अगुवा किसान नेपालले सन्तोष व्यक्त गरे ।
यसपटकको यो खुसीयालीले विगतका तितो यथार्थलाई भने बिर्साउन सक्दैन । अघिल्ला वर्षहरूमा दसैँ सँघारमै आइसक्दा पनि दुधको पैसा नपाएपछि किसानहरू गाउँकै समूह र साहु–महाजनसँग ऋण खोजेर चाड मनाउन बाध्य थिए ।
आफूले पाउनुपर्ने रकम डेरी र संस्थानमा फसेको भए पनि चाड मनाउन र गाईवस्तुलाई दाना खुवाउनकै लागि ऋण खोज्नुपर्ने बाध्यात्मक अवस्थाबाट हजारौँ किसान गुज्रिएका थिए । घरखर्च चलाउनभन्दा पनि ऋणको सावाँ र ब्याज कसरी तिर्ने भन्ने चिन्ताले किसनालाई सताउने गर्थ्यो । 
अगुवा किसान नारायण नेपालले भने, ‘दुधको पैसा नआउँदा बालबच्चाको स्कुलको शुल्क तिर्न, चाडबाडमा मिठोमसिनो खान र गाईभैँसीलाई पराल, चोकर किन्न नसक्ने अवस्थाबाट गुज्रिएका किसानहरूका लागि यस वर्षको भुक्तानीले एउटा नयाँ ऊर्जा दिएको छ ।’
संस्थान र डेरी उद्योगहरूले यसैगरी समयमै भुक्तानीको चक्रलाई निरन्तरता दिने हो भने किसानहरूलाई पशुपालनमा टिकिरहन र उत्पादन बढाउन थप हौसला मिल्ने उनको भनाइ छ ।
नेपाल डेरी एसोसिएनका अध्यक्ष प्रह्लाद दाहालले यो पटक दुध किसानहरूको बक्यौता बाँकी नभएको बताए । ‘यो पटक बक्यौता क्लियर छ । यसअघिका केही दसैँमा किसानहरू आन्दोलित हुने अवस्था हुन्थ्यो, तर यस पटक त्यस्तो केही छैन,’ उनले भने ।
निजी डेरीहरूले पनि भुक्तानी दिइरहेको उनले बताए । उनका अनुसार १५ दिन वा साप्ताहिक चक्र बाहेकको अधिकांश भुक्तानी भइसकेको छ । ‘यसपटकको डेरी उद्योगहरूको स्टक क्लियर हुँदा पनि भुक्तानी सहज भएको छ । जसका कारण किसानहरूले पनि नियमित पैसा पाइरहेका छन्,’ उनले भने ।
केही रकम बाँकी भएको हुनसक्ने, तर त्यो किसानहरूले पाउने भुक्तानीको चक्र रहेको उनले प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट