Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

धरानमा एथरको १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा

धरानमा एथरको १३औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा

सुनसरी : विद्युतीय सवारीप्रति आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो देशव्यापी उपस्थिति थप विस्तार गरेको छ। नेपालका लागि एथरको आधिकारिक वितरक वैद्याज इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।

भदौ १७ गते औपचारिक उद्घाटन गरिएको उक्त सेन्टरसँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको छ। सेन्टरको उद्घाटन धरानका कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा गरिएको थियो।

काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायत प्रमुख शहरमा उपस्थिति विस्तार गरिसकेको एथरले धरानमा सेन्टर सञ्चालनमा ल्याएसँगै पूर्वी नेपालका ग्राहकलाई आफ्ना विद्युतीय स्कुटर, प्रविधि र सेवा नजिकबाट अनुभव गर्ने अवसर दिएको जनाएको छ।

४५० सिरिज र रिज्तासँगै नयाँ ४५० एक्स

धरानस्थित एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज तथा पारिवारिक प्रयोगलाई लक्षित गरी तयार गरिएको रिज्ता हेर्न र टेस्ट राइड गर्न सक्नेछन्।

सेन्टरमा नयाँ ४५०एक्स ओभरटोन सिरिजसमेत उपलब्ध गराइएको छ। कम्पनीका अनुसार नयाँ पुस्ताको ४५० सिरिजमा प्रदर्शनसँगै प्रविधि र राइडिङ अनुभवलाई प्राथमिकता दिइएको छ।

स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता फिचर उपलब्ध छन्। म्याजिक ट्विस्टले थ्रोटलमार्फत सहज रूपमा गति घटाउन तथा इन्फिनिट क्रुजले लामो दूरीमा सहज क्रुजिङ गर्न सहयोग गर्ने कम्पनीको दाबी छ। भ्वाइस इन्टर्याक्सनमार्फत राइडरले भ्वाइस कमान्डबाट स्कुटरसँग अन्तरक्रिया गर्न सक्नेछन्।

त्यस्तै, रिज्तालाई आराम, व्यावहारिकता र पारिवारिक दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।

उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

धरानमा एक्सपेरियन्स सेन्टर औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ। यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ प्रविधिप्रति ग्राहकको चासो बढ्दै गएको देखाउने कम्पनीको भनाइ छ।

उद्घाटनलाई लक्षित गर्दै भदौ २३ गतेसम्म विशेष योजना पनि सार्वजनिक गरिएको छ। ग्राहकले एक्सटेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदर वा थप ८ हजार रुपैयाँको भ्यालुएसन बेनिफिटमध्ये एक सुविधा छनोट गर्न सक्नेछन्।

ब्याट्री र सेवामा पनि जोड

विद्युतीय सवारीको बजार विस्तारसँगै ग्राहकका लागि ब्याट्री, सर्भिस र चार्जिङसम्बन्धी दीर्घकालीन भरोसा पनि महत्वपूर्ण हुने भएकाले कम्पनीले ‘एथर एस्योरेन्स’लाई प्राथमिकता दिएको जनाएको छ।

वैद्याज इनर्जीले नेपालमा एथरको बिक्रीसँगै ग्राहकको दीर्घकालीन स्वामित्व अनुभवलाई मजबुत बनाउने उद्देश्यले सेवा तथा वारेन्टी सुविधालाई विस्तार गर्दै लगेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट