Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा कर छुटको सुविधा लिने फर्म २ हजार ९०६ पुगे, राजस्व संकलन पनि बढ्यो

चितवनमा कर छुटको सुविधा लिने फर्म २ हजार ९०६ पुगे, राजस्व संकलन पनि बढ्यो

चितवन :  सरकारले जारी गरेको ‘आर्थिक ऐन २०८३’ अन्तर्गत कर छुटको सुविधा लिने चितवनका फर्मको संख्या २ हजार ९०६ पुगेको छ। आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्कको बक्यौता रकमसँगै थप एक प्रतिशत कर बुझाएमा बाँकी ब्याज, जरिवाना तथा विलम्ब शुल्क मिनाहा हुने व्यवस्था ऐनले गरेको छ।

ऐन जारी भएपछि लामो समयदेखि कर बक्यौता रहेका व्यवसायीले सुविधा लिन थालेका छन्। यससँगै जिल्लामा राजस्व संकलनसमेत बढेको आन्तरिक राजस्व कार्यालय चितवनका प्रमुख पुण्यविक्रम खड्काले बताएका छन्।

उनका अनुसार लामो समयसम्म कर बक्यौता रहेर व्यवसाय सञ्चालनमा समस्या भोगिरहेका करदातालाई सरकारले एक पटकका लागि यो अवसर दिएको हो। जुनसुकै प्रकृतिको कर बक्यौता भए पनि तोकिएको प्रक्रियाअनुसार सुविधा लिन सकिने उनले बताए।

खड्काले भने, “यसलाई अवसरका रूपमा लिएर कर छुटको सुविधा उपभोग गर्नुहोस्। यस्तो सुविधा पुनः आउन नसक्ने भएकाले आएको अवसर नगुमाउन आग्रह गर्छु।”

विवरणअनुसार आयकरतर्फ प्यान नम्बर नलिई कारोबार गर्ने सात फर्मले छुट सुविधा लिएका छन्। प्यान नम्बर लिए पनि हालसम्म कारोबार नगरेका २६६ फर्मले पनि सुविधा लिएका छन्। आयकरतर्फ ब्याज तथा जरिवाना छुटको सुविधा कार्यालयमार्फत ३२६ फर्म र अनलाइन प्रणालीमार्फत एक हजार ९६४ फर्मले लिएका छन्।

मूल्य अभिवृद्धि करतर्फ कर संकलन नगरेका तथा विवरणसमेत दाखिला नगरेका ४४ फर्म र कर संकलन गरे पनि विवरण दाखिला नगरेका ३८ फर्मले छुट सुविधा लिएका छन्।

त्यस्तै, अन्तःशुल्कतर्फ कारोबारको असुलउपर तथा विवरणसम्बन्धी ६ फर्म र इजाजत नवीकरण नगरेका २१६ फर्मले सुविधा लिएको कार्यालयले जनाएको छ।

आयकर, भ्याट र अन्तःशुल्कतर्फ विवरण पेस गरी कर नबुझाएका २३ फर्म, कर निर्धारणबाट सिर्जित बक्यौता दाखिला गर्ने ११ फर्म तथा विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिला गर्ने दुई फर्मले पनि छुट सुविधा लिएका छन्।

यसैगरी, विसं २०८२ भदौ २ गतेसम्म विवरण नबुझाएका सुन, चाँदी, गरगहना, हीरा, रत्न तथा पत्थरमा लगाइएको विलासिता शुल्क र भ्याटसम्बन्धी एक फर्मले सुविधा लिएको छ। संस्था दर्ता ऐन, २०३४ अन्तर्गत आयकर छुटको सुविधा दुई फर्मले लिएका छन्।

चितवनमा आयकरतर्फ ७४ हजार ३६६ करदाता रहेका छन्। त्यसमध्ये ११ हजार ३४५ जना भ्याट र चार हजार ९६१ जना अन्तःशुल्कमा दर्ता भएका छन्। भ्याटतर्फ सबै महिनाको विवरण नबुझाउने करदाताको संख्या ५५ प्रतिशत रहेको कार्यालयले जनाएको छ। आयकरतर्फ आर्थिक वर्ष २०८१/८२ सम्म ३३ प्रतिशत करदाताले विवरण बुझाउन बाँकी रहेको देखिएको छ।

आर्थिक ऐन २०८३ ले दिएको छुट सुविधाअन्तर्गत जेठ १५ देखि भदौ ५ गतेसम्म दुई हजार ५६३ करदाताले विवरण बुझाई कर दाखिला गरिसकेको खड्काले जानकारी दिए। भ्याटतर्फ ८२ करदाताले विवरण बुझाएर कर रकमसमेत दाखिला गरेका छन्। अन्तःशुल्कतर्फ २२२ करदाताले आर्थिक ऐन २०८३ को दफा ४३ (१) र (२) अनुसार अन्तःशुल्क दस्तुर बुझाई विवरणसमेत दाखिला गरिसकेका छन्।

कर छुट सुविधाका कारण राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को साउनमा एक अर्ब ५३ करोड ३९ लाख १० हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको साउनमा एक अर्ब ८१ करोड ५५ लाख ५८ हजार रुपैयाँ संकलन भएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउनमा २८ करोड रुपैयाँ बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij