Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता, वडाध्यक्षसहित ३ जना कारागार चलान

जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता, वडाध्यक्षसहित ३ जना कारागार चलान

काठमाडौँ : नवलपरासीको सुस्ता गाउँपालिका–५ रामनगरमा जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको गम्भीर प्रकरणमा वडाध्यक्षसहित तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

६६ वर्षीय जमालुद्दिन मुसलमान जीवित हुँदाहुँदै उनको नाममा झुठा विवरणका आधारमा मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको आरोपमा जिल्ला अदालत नवलपरासीले वडाध्यक्ष प्रभुनाथ अहिर, वडासचिव सञ्जयकुमार चौधरी र तारिख मियालाई थुनामा पठाउने आदेश दिएको हो।

सूचना अधिकारी भेषराज खनालका अनुसार उनीहरूलाई “झुठा विवरण पेस गरी व्यक्तिगत घटना दर्ता गरे/गराएको” कसुरमा पुर्पक्षका लागि थुनामा पठाइएको हो।

उक्त घटनामा संलग्न ११ जनामध्ये इशानेसा मिया र छोटे खाँलाई ५०–५० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने अन्य ६ जना फरार रहेका छन्। फरार तथा धरौटीमा छुटेकाहरू सर्जिमन मुचुल्काका साक्षी रहेको जनाइएको छ।

अनुसन्धान अनुसार तारिख मियाले आफ्ना बाबु जमालुद्दिन अन्सारीको नामसँग मिल्ने जीवित व्यक्ति जमालुद्दिन मुसलमानलाई लक्षित गर्दै मृत्यु दर्ताको निवेदन दिएका थिए। बाबुको नामको फाइदा उठाउँदै झुठा कागजात तयार गरी वडा कार्यालयमा निवेदन दिइएको खुलेको प्रहरीले जनाएको छ।

आफ्नै नाममा मृत्यु दर्ता भएको थाहा पाएपछि पीडित जमालुद्दिन मुसलमानले प्रहरीमा जाहेरी दिएपछि घटनाको पर्दाफास भएको हो। वडा कार्यालयले सर्जिमनको आधारमा मृत्यु दर्ता प्रमाणपत्र जारी गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट