चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका–अन्तर्गत टिकौली क्षेत्रमा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने निर्णय वन तथा वातावरण मन्त्रालयले गरेको छ। लामो समयदेखि भइरहेको सम्भाव्यता अध्ययनपछि यो योजना अब कार्यान्वयन चरणमा पुगेको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलका अनुसार २०७७ सालदेखि सुरु गरिएको अध्ययन र पूर्वतयारीपछि मन्त्रालयले औपचारिक रूपमा स्थानान्तरणको निर्णय गरेको हो। प्रारम्भिक चरणमा १८ वटा कृष्णसार मात्रै ल्याइनेछ, जसलाई ट्रायल फेजका रूपमा लिइनेछ।
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट कुल १८ वटा कृष्णसार टिकौलीमा ल्याइनेछ। स्थानान्तरण हुने समूहमा ६ भाले र १२ पोथी रहनेछन्। पोथी छनोट गर्दा बच्चा नजन्माएका जनावरलाई प्राथमिकता दिइनेछ। दुई फरक स्थानबाट ल्याउँदा अनुकूलन राम्रो हुने भएकाले कञ्चनपुर र बर्दियाबाट छनोट गरिएको विभागले जनाएको छ।
स्थानान्तरणका क्रममा कृष्णसारलाई छुट्टाछुट्टै गाडीमा खोरसहित सुरक्षित रूपमा ढुवानी गरिनेछ। मौसम अनुकूल हुने रातको समयलाई स्थानान्तरणका लागि उपयुक्त मानिएको छ।
डिभिजन वन कार्यालय भरतपुरका अनुसार मन्त्रालयको आधिकारिक पत्र आउन बाँकी छ। पत्र प्राप्त भएपछि औपचारिक प्रक्रिया अघि बढाइनेछ। टिकौलीमा करिब १९ हेक्टर क्षेत्रफलमा तारबार गरिएको संरक्षित क्षेत्र तयार भइसकेको छ भने घाँसे मैदान, पोखरी र खोर मर्मतका केही काम बाँकी छन्।
रत्ननगर नगरपालिकाले यस परियोजनाका लागि पूर्वाधार निर्माण गरिसकेको छ। ढिलोमा आउँदो वैशाख अन्तिमसम्म टिकौलीमा कृष्णसार देख्न सकिने अपेक्षा गरिएको छ। नेपालमा कुनै समय तराई क्षेत्रमा प्रशस्त पाइने कृष्णसार हाल संरक्षण प्रयासपछि ५०० भन्दा बढी पुगेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij