काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान नहटाइने स्पष्ट पार्नुभएको छ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूको प्रश्नमा बोल्दै क्रिकेट मैदान खाली गराउने सरकारको कुनै उद्देश्य नभएको बताउनुभयो।
उहाँका अनुसार त्रिविले जारी गरेको मैदान खाली गर्ने सूचनापछि यस विषयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसँग छलफल भइसकेको छ। भाडा सम्झौता सकिएको कारण नयाँ ढङ्गले सम्झौता नवीकरण गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
यसअघि त्रिविले विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गराउने निर्णयसँगै क्रिकेट मैदान खाली गर्न पत्राचार गरेको थियो। तर यो मैदान अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना हुँदै आएको महत्वपूर्ण खेलस्थल भएकाले यस विषयमा चासो बढेको थियो।
किर्तिपुरस्थित यो मैदानमा हालसम्म धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल सम्पन्न भइसकेका छन्। पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) समेत यही मैदानमा आयोजना गरिएको थियो। फ्लड लाइटसहित आधुनिक संरचनामा विकास भइरहेको यो मैदानलाई अझ व्यवस्थित बनाउने योजना रहेको बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij