Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

रत्ननगर खानेपानीको ८३ प्रतिशत घरधुरीमा शुद्ध पानीको पहुँच, तीन वर्षको उपलब्धि सार्वजनिक

रत्ननगर खानेपानीको ८३ प्रतिशत घरधुरीमा शुद्ध पानीको पहुँच, तीन वर्षको उपलब्धि सार्वजनिक

चितवन :  पूर्वी चितवनको रत्ननगरस्थित रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रमा ८३ प्रतिशत घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याएको छ। नगरका १६ मध्ये १ देखि १३ नम्बर वडासम्म सेवा विस्तार गरेको संस्थाले बाँकी क्षेत्रमा पिठुवा खानेपानीले सेवा दिँदै आएको छ।

संस्थाका अध्यक्ष माधव अर्यालको नेतृत्वमा बछौली खानेपानी संस्थासँग मर्ज गरी सेवा क्षेत्र विस्तार गरिएको हो। मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत २०७९ भदौदेखि हालसम्मका तीन वर्षे उपलब्धि सार्वजनिक गरिएको छ।

यस अवधिमा ४ हजारभन्दा बढी नयाँ उपभोक्ता थपिएका छन् भने ६४ किलोमिटर पाइपलाइन विस्तार गरी घरघरमा पानी आपूर्ति गरिएको छ। संस्थाले पानी स्रोत संरक्षणका लागि “एक घर एक पोखरी, एक घर दुई विरुवा र एक घर एक घार” कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।

संस्थालाई सुदृढ बनाउन २०८० सालमा सौराहा–बछौली खानेपानी आयोजना मर्ज गरिएको थियो। मर्जपछि  ७१३ उपभोक्ता, ५४ किलोमिटर पाइपलाइन, एउटा ओभरहेड ट्याङ्की, दुईवटा बोरिङ तथा २८ लाख ३२ हजार रुपैयाँ संस्थामा थपिएको अध्यक्ष अर्यालले जानकारी दिए।

संस्थाले न्यूनतम पानी शुल्क ११० रुपैयाँबाट घटाएर ८० रुपैयाँ कायम गरेको छ। साथै सामुदायिक विद्यालयका लागि धारा जडानमा ५० प्रतिशत छुट, रातो कार्डधारी अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क धारा जडान र किस्ताबन्दीमा जडान गर्ने व्यवस्था गरिएको छ। धारा जडान शुल्क पनि ९ हजार ५०० बाट घटाएर ८ हजार ५०० कायम गरिएको छ।

हाल संस्थाले ८४ प्रतिशत घरधुरीमा पानी वितरण गरिरहेको छ भने बाँकी ४ हजार ५०० भन्दा बढी घरधुरीमा सेवा विस्तार गर्न ३६ करोड रुपैयाँको सहलगानी आयोजनाअन्तर्गत दुईवटा ओभरहेड ट्याङ्की निर्माण कार्य जारी रहेको छ।

तेस्रो चरणको मर्मत तथा सुधार कार्यक्रमअन्तर्गत २ करोड ५४ लाख रुपैयाँ लगानीमा शुब्बाचोकमा बोरिङ, ३० वटा भल्भ चेम्बर र साढे १८ किलोमिटर पाइपलाइन विस्तार गरिएको सचिव प्रताप डल्लाकोटीले जानकारी दिए। सो कार्यमा सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत लगानी रहेको छ।

त्यस्तै, यात्रु तथा सर्वसाधारणका लागि सेवा क्षेत्रका १३ स्थानमा सार्वजनिक धारा सञ्चालन गरिएको छ। पानीको पुनः प्रयोग र संरक्षणका लागि १०२ घरधुरीमा रिचार्ज पिट निर्माण गरिएको तथा उपभोक्तालाई २५ हजार बिरुवा वितरण गरिएको कोषाध्यक्ष सरस्वती लामाले बताइन्।

संस्थाको चालु आर्थिक वर्ष चैत १५ गतेसम्म बैंक मौज्दात १ करोड ९८ लाख रुपैयाँ रहेको छ। २०५८ सालमा स्थापना भएको यस संस्थामा हाल १५ हजार ३०० उपभोक्ता रहेका छन्।

आगामी चैत २८ गते साधारण सभा तथा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिनेछ। यस पटक भने विगतको प्रतिनिधिमूलक प्रणाली हटाएर सबै उपभोक्ताको प्रत्यक्ष मतदानमार्फत कार्यसमिति र लेखा समिति चयन गर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij