Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

इनिशा वि.क. प्रकरण : न्यायको माग गर्दै चितवनमा शान्तिपूर्ण प्रदर्शन

इनिशा वि.क. प्रकरण : न्यायको माग गर्दै चितवनमा शान्तिपूर्ण प्रदर्शन

चितवन : इनिशा वि.क.लाई न्याय दिलाउन माग गर्दै चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको छ। दलित समुदायका युवायुवतीहरूको आयोजनामा भएको उक्त कार्यक्रम भरतपुरको चौबीसकोठीबाट सुरु भई जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेको थियो।

प्रदर्शनका क्रममा सहभागीहरूले जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा केही समय नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न माग गरेका थिए। त्यसपछि पुनः चौबीसकोठीमा फर्किएर कार्यक्रम कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै दलित अधिकारकर्मी विपिन रामुदामुले पीडितले न्याय नपाउँदासम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो। उहाँले दलित समुदायमाथि हुने विभेद तथा हिंसाका घटनामा राज्य गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, अर्का अधिकारकर्मी गोपाल विश्वकर्माले दोषीलाई उन्मुक्ति दिने प्रयास भए कडा आन्दोलनमा उत्रिने बताउँदै सामाजिक न्यायका लागि सबै पक्ष एकजुट हुनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय पार्षद अमिर रामदामले सञ्चारमाध्यमले यस्ता घटनालाई प्राथमिकताका साथ उठाउनुपर्ने बताउनुभयो। उहाँले सत्यतथ्य बाहिर ल्याउन पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै न्याय सुनिश्चित गर्न निरन्तर खबरदारी आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रमको समापन अभियन्ता रोजी विश्वकर्माले धन्यवाद ज्ञापनसहित गर्नुभएको थियो। उहाँले न्यायका लागि देखिएको एकताले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै आवश्यक परे थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट