Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपालको स्वास्थ्य प्रणाली सुधार: पाँच स्तम्भको खाका

नेपालको स्वास्थ्य प्रणाली सुधार: पाँच स्तम्भको खाका

नेपालको स्वास्थ्य प्रणाली सुधारका लागि अब साना–साना सुधार वा पुरानो ढाँचामा टालटुल गरेर मात्र सफलता पाउन सकिँदैन। विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रलाई नजिकबाट नियाल्दा स्पष्ट देखिन्छ—नीति बन्यो, सरकार फेरियो, मन्त्री फेरिए, तर प्रणाली भने उही पुरानो ढर्रामा चलिरहेको छ। अब स्वास्थ्य सेवालाई ‘लाइफ फर्स्ट’ अर्थात् जीवन पहिलो भन्ने दृष्टिकोणमा आधारित, परिणाममुखी र नागरिक–केन्द्रित बनाउन जरुरी छ।

जीवन-केन्द्रित स्वास्थ्य सेवा प्रणालीका पाँच प्रमुख आधार स्तम्भ

नेपालको स्वास्थ्य सेवा प्रणालीलाई अझ जिम्मेवार, प्रभावकारी र बिरामी–केन्द्रित बनाउन पाँच व्यावहारिक सुधार आवश्यक छन्। मेरो विचारमा, स्वास्थ्य सुधारका सबै पक्षलाई समेट्दै पाँच आधारभूत स्तम्भमा काम गर्नुपर्छ—नेपाल स्वास्थ्य प्राधिकरण स्थापना गरी सरकारी प्रणाली सुदृढ बनाउने, “एक चिकित्सक–एक संस्था” नीति लागू गर्दै सुशासन सुनिश्चित गर्ने, परिवार–आधारित स्वास्थ्य सेवा र जनशक्ति विकासमा जोड दिने, स्वास्थ्य बीमा तथा निजी क्षेत्रको पुनर्संरचना गर्ने, र औषधिमा आत्मनिर्भरता नीतिलाई प्राथमिकता दिने। यी सुधारहरूले मात्र स्वास्थ्य प्रणालीलाई उत्तरदायी, पारदर्शी र जीवन–केन्द्रित बनाउन सक्छन्।

१. नेपाल स्वास्थ्य प्राधिकरण

नेपालको स्वास्थ्य प्रणालीलाई व्यवस्थित गर्न एउटा शक्तिशाली ‘नेपाल स्वास्थ्य प्राधिकरण’ आवश्यक छ, जसले देशभरका स्वास्थ्य संस्थालाई एकीकृत संरचना, आफ्नै नियम–कानुन र स्पष्ट चेन अफ कमान्डमा सञ्चालन गर्न सकोस्।

सरकारी अस्पताललाई स्वास्थ्य सेवाको केन्द्रमा राख्दै तिनलाई सक्षम, विश्वसनीय र स्रोतसाधनयुक्त बनाउनु पहिलो प्राथमिकता हुनुपर्छ। पर्याप्त तलब, प्रोत्साहन र स्पष्ट जिम्मेवारीसहित स्वास्थ्यकर्मीलाई आकर्षित गर्न सकिन्छ। डिजिटल प्रणाली र क्लिनिकल अडिट अनिवार्य गर्दै सेवा गुणस्तर, पारदर्शिता र परिणाम मापनलाई संस्थागत गर्नुपर्छ।

२. “एक चिकित्सक, एक संस्था” र सुशासन

हालको स्वास्थ्य प्रणालीमा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ अर्थात् स्वार्थको द्वन्द्व गम्भीर समस्या बनेको छ। एउटै चिकित्सकले सरकारी र निजी दुवै क्षेत्रमा काम गर्दा सेवा गुणस्तर प्रभावित हुन्छ। ‘एक चिकित्सक–एक संस्था’ नीति कडाइका साथ लागू गरिनुपर्छ, जसले उत्तरदायित्व, पारदर्शिता र सेवाको गुणस्तर सुनिश्चित गर्छ।

यो नीति निजी स्वास्थ्य संस्थामा पनि लागू गर्न सकिन्छ। निजी क्षेत्रलाई नियमन, नियन्त्रण र पारदर्शितामा ल्याउँदै सरकारी र निजी दुवै प्रणालीबीच सन्तुलन कायम गर्न आवश्यक छ।

३. परिवार–आधारित स्वास्थ्य सेवा र जनशक्ति विकास

स्वास्थ्य सेवा अस्पतालमा मात्र सीमित नभई परिवार र समुदायमा आधारित हुनुपर्छ। फ्यामिली फिजिसियन अर्थात् एमडीजीपी प्रणाली विकास गर्दै प्रभावकारी रिफरल प्रणाली लागू गर्नुपर्छ, जसले बिरामीलाई सही उपचार सुनिश्चित गरोस्।

नेपालमा अहिले अध्ययन भइरहेको एमबीबीएस प्रणालीलाई चरणबद्ध रूपमा परिमार्जन गर्दै एमडीजीपी शिक्षालाई प्राथमिकता दिनु आवश्यक छ। साथै, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मीलाई सशक्त बनाउँदै गाउँ–समुदायसम्म सेवा विस्तार गर्नुपर्छ।

४. स्वास्थ्य बीमा र निजी क्षेत्रको पुनर्संरचना

नेपालको स्वास्थ्य बीमा कार्यक्रम राम्रो उद्देश्यका साथ सुरु भए पनि कमजोर कार्यान्वयनका कारण प्रभावकारी हुन सकेको छैन। बीमा प्रणालीलाई दिगो, पारदर्शी र प्रभावकारी बनाउन निजी क्षेत्रलाई पनि समेट्दै पुनर्संरचना गर्नुपर्छ।

अहिले निजी क्षेत्र मुख्य सेवा प्रदायक बनेको सन्दर्भमा, सरकारी प्रणालीलाई बलियो बनाउँदै निजी क्षेत्रलाई प्रतिस्पर्धी र उत्तरदायी बनाउनु आवश्यक छ।

५. औषधि आत्मनिर्भरता र जेनेरिक नीति

देशलाई औषधिमा आत्मनिर्भर बनाउँदै जेनेरिक औषधिको स्पष्ट नीति लागू गर्नुपर्छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दा लागत घट्ने र पहुँच बढ्नेछ।

स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई रोकथाममा केन्द्रित हुनुपर्छ। साना नीतिगत हस्तक्षेप—जस्तै सडक सुरक्षामा कडाइ—ले पनि ठूलो संख्यामा जीवन बचाउन सक्छ। स्वास्थ्य प्रणालीको अन्तिम लक्ष्य अस्पतालको संख्या बढाउनु मात्र होइन, जीवन बचाउनु र नागरिकलाई स्वस्थ राख्नु हो।

अन्ततः, स्वास्थ्य सुधार नयाँ योजना ल्याउने विषय होइन—यो कार्यान्वयनको साहस, स्पष्ट प्राथमिकता र “लाइफ फर्स्ट गभर्नेन्स” अर्थात् “जीवन पहिलो” सोचको विषय हो।

“लाइफ फर्स्ट गभर्नेन्स” द्वारा निर्देशित स्वास्थ्य सेवा प्रणालीमा प्रत्येक नीति, संस्था र स्वास्थ्यकर्मी आफूले सेवा गर्ने जीवनप्रति उत्तरदायी हुनुपर्छ। जीवनको रक्षा, स्वास्थ्य र खुशीको प्रवर्द्धन, तथा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्नु राष्ट्रका लागि सम्झौता गर्न नसकिने प्राथमिकताहरू हुन्।

नेपालमा बन्न लागेको नयाँ सरकार र स्वास्थ्य मन्त्रालय नेतृत्वले ‘लाइफ फर्स्ट’ दृष्टिकोण अपनाएमा नेपालले समान, अनुसन्धानमा आधारित, पारदर्शी र नागरिक–केन्द्रित स्वास्थ्य सेवा प्रणाली निर्माण गर्न सक्छ। यस्तो प्रणाली जहाँ प्रविधि जनताको सेवामा प्रयोग हुन्छ, जहाँ डाक्टर र नर्सहरू सशक्त हुन्छन्, जहाँ बिरामीलाई सम्मान गरिन्छ, र जहाँ गुणस्तरीय स्वास्थ्य सेवा विशेषाधिकार होइन—हरेक नागरिकको अधिकार हुन्छ।

यदि यी पाँच स्तम्भमा आधारित समग्र सुधार लागू गरियो भने मात्र नेपालको स्वास्थ्य प्रणाली प्रभावकारी, न्यायपूर्ण र परिणाममुखी बन्न सक्छ।

(डा. सुशिल कोइराला, स्वास्थ्य अभियन्ता )

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट