Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

एकातिर चुनावको नारा अर्कोतिर होलीको गीतले गुञ्जमान भयो मिथिला

जिन्दावाद, जिन्दावाद...पार्टी जिन्दावाद, ...छाप जिन्दावाद, ।

जिन्दावाद, जिन्दावाद...पार्टी जिन्दावाद, ... छाप जिन्दावाद, ।


जात पर न पात पर, मोहर लगाऊ ...छाप पर,


...भैया जिन्दावाद, ...भैया जिन्दावाद,


जिन्दावाद, जिन्दावाद...छाप जिन्दावाद ।

‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’

‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ मिथिलामे राम खेलैय होली, मिथिलामे । ‘किनका के सोभे पियरी पितम्बर, किनकाके सोभे पियरी पितम्बर, किनकाके हाथ अबिर झोली । मिथिलामे, हो मिथिलामे राम खेलैय होली, मिथिलामे’ ‘सीताजीके सोभे पियरी पितम्बर, सीताजीकै सोभे पियरी पितम्बर, रामजीके हाथ अबिर झोली । हो, हो, रामजीके हात अबिर झोली, मिथिलामे, हो मिथिलामे राम खेलैय होली, मिथिलामे ।’

‘जोगिरा सररर, सररर, सररर । जोगिरा सररर ।’ ‘रङ बरसे भिगे चुनरबाली रङ बरसे, हो रङबरसे भिगे चुनरवाली रङबरसे’

‘सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया । हो, सीया झारु नम्बी केश, राम लैहे सोनेके ककहिया ।’

सीया झारु नम्बी केश, सीया हो, हो, हो । सीया झारु नम्बी केश, सीया हो, हो, हो सीया झारु नम्बी केश । राम लैहे सोनेके ककहिया ।’

प्रतिनिधिसभा निर्वाचन २०८२ सँगै अहिले रङ र अबिरको पर्व होलीको अब एक साता मात्रै बाँकी रहँदा मिथिलाको प्रत्येक गाउँ/सहरमा एकातिर निर्वाचनको प्रचार, उम्मेदवारको प्रचार, छापको प्रचार र अर्कोतिर होलीको गीत (जोगिरा)ले गुञ्जमान बनेको छ ।

एकातिर नेता, कार्यकर्ता, होरन, माइक लिएर गाउँगाउँ र बस्तीबस्तीमा चुनावी होहल्ला छ भने अर्कोतिर नेपालका तराई–मधेस र भारतको विहार राज्यको अधिकांश जिल्ला समेटिएर बनेको मिथिला क्षेत्रमा अहिले साँझ पर्नेबित्तिकै गाउँगाउँमा डम्फु, झ्याली, ढोल, मृदङ्ग बज्न थालेको छ भने चारैतिर जोगिराको धुनहरु सुनिन थालेको छ ।

चुनावी अभियानमा विभिन्न उमेरका व्यक्तिहरु होमिएर गाउँगाउँ डुलिरहेका छन् भने उमेरले ६५ पुग्न आँटेका जलेश्वर नगरपालिका–८ बजराही निवासी विपेन्द्र पाण्डे साँझ पर्नासाथ आफ्ना घरबाट हातमा डम्फु समातेर गाउँको चौबाटोस्थित मिलन चोकमा पुग्ने  गर्छन् ।

त्यस्तै गाउँको उत्तरबारी टोलबाट हारमुनियम लिँदै स्थानीय ५७ वर्षीय रामदेव महरा पनि सूर्यास्त हुनासाथ सोही चोकमा आइपुग्छन् । यी दुवै जनाको आगमन भइसकेको खबर पाउनासाथ गाउँको पछियारी टोलबाट ४६ वर्षीय मोहन साह पनि आफ्नो घरबाटै दुवै हातले झ्याली पिट्दै मिलन चोकमा आइपुग्छन् भने गाउँको पूर्वारी टोलबाट ७२ वर्षीया गौरी चौधरी पनि ढोल बजाउँदै सोही ठाउँमा पुग्छिन् ।

विभिन्न वाद्यवादनका साथ मिलन चोकमा आइपुग्ने उनीहरुबाहेक गाउँकै लोकगायक अरुण पाण्डे, धीरेन्द्र चौधरी, आशनारायण मण्डलसहित अन्य थुप्रै व्यक्ति पनि साँझको दियो बल्नेबित्तिकै गाउँको मिलन चोकमा जम्मा हुने गर्छन् । बजराही गाउँको चारै दिशाबाट गाउँको बीच चोकमा कुनै सभा, सम्मेलन, बैठक, बहस वा छलफल गर्नका लागि जम्मा हुँदैनन् । बरु आपसी भाइचारा, प्रेम सद्भाव, सुखदुःख साटासाट गर्न र जोगिराको संरक्षण र प्रवद्र्धनका लागि अहिले दैनिक रुपमा उनीहरु जम्मा हुने गर्छन् ।

बजराही गाउँमा अहिले साँझको सात बज्नासाथ मनलाई मुग्ध बनाउने जोगिरा सुनिन थालेको छ । होलैयाहरु (जोगिरा गाउनेहरु) एकै स्वरमा लय हालेर जोगिरा गाएको सुन्दा बजराही गाउँको टोलटोलमा आ–आफ्ना घर आँगनमा बसिरहेका जो–कोही पनि प्रसन्न एवं खुसी हुने गर्छन् ।

होलैयाहरुले हातहातमा ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायत बाजाहरु लिएर विभिन्न धुन र सङ्गीतको सिर्जना गर्दै सुरु गरेका जोगिरा राति ११/१२ बजेसम्म चलिरहन्छ । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दहरुलाई लयमा ढालेर गाइएको जोगिरा सुन्न र हेर्न गाउँलेहरुको भीड लाग्ने गर्छ भने जोगिराका क्रममा हुने नाचगानमा ठूलो सङ्ख्यामा सहभागी हुने गरेको होलैया अरुण पाण्डेले बताए ।

जलेश्वर नगरपालिका–८ बजराही गाउँका जोगिरा टोली निकै चर्चित छ भने यहाँको जोगिरा टोलीमा हिन्दू र मुस्लिम समुदायको समावेशीताले यसलाई झन अद्भूत बनाइदिएको स्थानीय मुसलिम अगुवा सकुर राइनको बुझाइ छ ।

हिन्दूको पर्वमा मुस्लिम सहभागी नहुने र मुस्लिमको पर्वलाई हिन्दूले चासो नदिने परिपाटी महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको–८ बजराही गाउँमा देखिँदैन । यहाँका दुवै समुदायका युवा तथा बुद्धिजीवी अगुवाहरुले यस सामाजिक विभेदलाई चिरेर अगाडि बढेको अवस्था रहेको स्थानीय नेपाली कांग्रेसका युवा नेता अनिल पाठकले बताए । वर्षौँदेखि यहाँका मुस्लिम हिन्दूको पर्वमा र हिन्दूहरु मुस्लिमको चाडपर्वमा एकसाथ उभिएर पर्व मनाउँदै आएको उनको भनाइ छ ।

जलेश्वर नगरपालिका–८ बजराही गाउँमा जोगिराको रङ चढेर धुम मचाइरहेका बेला जलेश्वर नगरपालिकाकै वडा नं ७ अनकार गाउँमा पनि बर्सेनि जोगिराले धुम मचाउने गर्छ । यसमा सर्वसाधारण स्थानीय बासिन्दासहित जनप्रतिनिधि पनि उत्साहजनक रुपमा सहभागी हुने गर्छन् ।

सो वडाका वडाध्यक्ष रामछविला यादव स्वयं पनि होलैया भएको कारण अहिले त्यस वडामा पनि होलीका अवसरमा जोगिरा गाउनकै लागि युवाहरु देश परदेशबाट गाउँ फर्किएका छन् भने जोगिराको धुनले अहिले रातभरि गाउँलेहरुलाई जाग्राम बस्ने बनाएको स्थानीय युवा नेता सुशीलकुमार शर्माले बताए ।

मिथिला क्षेत्रसहित सम्पूर्ण देशकै लागि खुसी र उमङ्गको पर्व होलीलाई निम्ता दिँदै विगत दुई/तीन दिनदेखि वडा नं ७ मा युवा, वयस्क तथा वृद्धसमेतको छुट्टाछुट्टै टोलीले जोगिरा गाएर पुरै वडालाई नै सङ्गीतमय बनाउने गरेका छन् । स्थानीय शिवचन्द्र कापरका अनुसार यस वडामा अहिले कतिबेला साँझ पर्ने र कतिबेला होलैयाहरु आएर जोगिरा सुरु गर्ने प्रतिक्षामा घरघरमा महिला, पुरुष तथा बालबालिका र वृद्धवृद्धासमेत बसिरहेका हुन्छन् भने जोगिरा सुरु हुनेबित्तिकै प्रत्येक घरघरबाट निस्केर सबैजना होलीगीत सुन्नका लागि चोकसम्म पुग्ने गर्छन् ।

सम्पूर्ण मिथिलाञ्चलवासीलाई मनपर्ने जोगिरा महोत्तरीको जलेश्वर नगरपालिकामा मात्रै सीमित नभएर जिल्लाको पिपरा गाउँपालिका–७ बनौली गाउँमा पनि निकै धुमधामका साथ गाइने गरिएको स्थानीय सञ्चारकर्मी नवीन प्रियदर्शीले बताए । सो गाउँमा एउटै मञ्चमा विभिन्न उमेर समूहका व्यक्तिहरु बसेर जोगिरा गाउने, हाँस्ने, हसाउने, कथा, कहानी र जीवनका अनुभवहरु साटासाट गर्दै देवीदेवताप्रति भक्तिभाव, ठूलालाई आदर सत्कार र सानालाई स्नेह बाँड्ने गरेको उनले थपे ।

कवि कोकिल विद्यापतिको जन्मथलोसमेत रहेको सो गाउँमा विगत केही दिनदेखि रातिका बेला होलैयाहरुको भीडले मेला जस्तै लाग्ने गरेको स्थानीय सुनील ठाकुले बताए । जलेश्वर नगरपालिकाको बजराही, अनकार र पिपराको बनौली गाउँ जस्तै जोगिराको धुनमा अहिले महोत्तरीको मनरासिस्वा नगरपालिकाको–९ बथनाहा गाउँ पनि रङ्गिएको छ ।

महोत्तरी जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकाको प्रत्येक गाउँटोलमा फागुन ७÷८ गतेदेखि नै प्रत्येक रातिका बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको विभिन्न पालिकाबाट स्थानीयहरुले बताएका छन् ।

‘फागुन आयो, होली ल्यायो’

‘मारो भरभर कर पिचकारी’

‘होली आयो, मस्ती छायो’

‘मारो भरभर कर पिचकारी’

‘जोगिरा सररर, जोगिरा सररर....... ’

‘कई हातका धोती पहना, कई हात लपेटा’

‘कई घाटका पानी पिया, कई बापका बेटा’

‘जोगिरा सररर, जोगिरा सररर.......’

जस्ता सयौँ गीत, चुट्किला, हाँसो ठट्ठा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको होलीलाई आगमनको प्रतिक्षामा अहिले महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र भारतका मधुवनी र दरभङ्गा जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा सुरु भइसकेको छ । होलैयाहरुले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर नगरपालिका– २ का सुदीश साहले बताए ।

प्रायः होली पर्वभन्दा १५ दिन पहिले सुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा तीन÷चार दिनदेखि सुरु भइसकेको छ भने यस जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाइने गरिन्छ । पछिल्लो समय भोजपुरी अश्लिल भड्किलो गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताले होहल्ला गरेर जोगिरा भाँड्नेक्रम बढ्न थालेकामा मनरासिस्वा नगरपालिका–४ का ७७ वर्षीय वृद्ध होलैया अरुणसिंहले चिन्ता व्यक्त गरे ।

मटिहानी नगरपालिका–८ का होलैया वशिष्ठ मिश्र पनि जोगिराको संरक्षण, संवद्र्धन तथा जगेर्नाका लागि स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको बताए । जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति रहेको भन्दै उनले यसको संरक्षण गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, जलेश्वर–५ का संस्कृतिविद् धु्रव रायले होली गीत केवल मनोरञ्जनको साधन वा गीत नभएर हाम्रो परम्परा एवं हाम्रा पुर्खाको धरोहर रहेको र यस परम्परा तथा धरोहरलाई संरक्षण, सम्वद्र्धनका साथै यसको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताए । यसको संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्न सबैलाई उनले सल्लाह दिए ।

यसबीच चुनावी अभियानले यस वर्षको जोगिरा गायनलाई प्रभाव पारेको सर्वसाधारण जोगिरा प्रेमीहरु बताउँछन् । चुनावका बेला र त्यसमाथि पनि प्रचारप्रसारको बेला रहेका कारण जोगिरा गायन भइरहेकैबेला पनि उम्मेदवार तथा उनका नेता, कार्यकर्ताहरु भोट माग्न आइदिने, जोगिरा गायनमा बसेकालाई उठाएर चुनावी अभियानमा भोट माग्न लगिदिनेजस्ता क्रियाकलापले यस वर्षको जोगिरा गायन प्रभावित भइरहेको जलेश्वर–८ का होलैया अरुण पाण्डेले बताए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट