चितवन : चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा सञ्चालन गरिएको बाघ गणनाका क्रममा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन्। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार ८५ वटा क्यामेरा समस्याग्रस्त बनेका थिए, जसमध्ये ६० वटा हराएका र २५ वटा बिग्रिएका छन्।
उनका अनुसार चितवन–पर्सा कम्प्लेक्समा कुल १ हजार ७८० वटा क्यामेरा जडान गरिएको थियो। दुई राष्ट्रिय निकुञ्जलाई एउटै कम्प्लेक्सका रूपमा विभाजन गरी तीन ब्लकमा बाँडेर गणना गरिएको थियो।
यस कम्प्लेक्सलाई ९५८ वटा ग्रिडमा विभाजन गरी बाघ गणना गरिएको हो। प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रफललाई एउटा ग्रिडका रूपमा निर्धारण गरिएको थियो। प्रत्येक ब्लकमा १७ रातसम्म क्यामेरा राखेर तथ्यांक संकलन गरिएको थापा मगरले जानकारी दिए।
गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। गणनाबाट प्राप्त तथ्यांक विश्लेषणपछि मात्र बाघको यकिन संख्या सार्वजनिक गरिने जनाइएको छ।
यसअघि सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनामा नेपालभर ३५५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। त्यतिबेला चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ वटा बाघ भेटिएका थिए।
यसपटक क्यामेरा हराएको घटनाले गणनाको विश्वसनीयतामा प्रभाव पर्ने हो वा नपर्ने भन्ने विषयमा निकुञ्ज प्रशासनले थप अध्ययन गरिरहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij