Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

नेपाली कांग्रेसका सभापति गगन थापाः मधेसको गौरव कायम राख्दै स्वाभिमानी नेपाल बनाउने प्रतिबद्धता !

नेपाली कांग्रेसका सभापति गगन थापाः मधेसको गौरव कायम राख्दै स्वाभिमानी नेपाल बनाउने प्रतिबद्धता !

जनकपुरधाम : नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञासभालाई सम्बोधन गर्दै मधेसलगायत समग्र देशलाई एक गौरवशाली र स्वाभिमानी राष्ट्र बनाउने पार्टीको प्रतिबद्धता दोहोर्याएका छन्।

सभामा उनले प्रत्येक नेपाली सम्मानपूर्वक बाँच्न सक्ने, सपना देख्न सक्ने र जीवनकालमा ती सपनाहरू साकार पार्न सक्ने नेपाल बनाउने परिकल्पना प्रस्तुत गरे। थापाले मधेसको पहिचानमाथि गौरव कायम राख्दै विश्वले स्वाभिमानी राष्ट्रको रूपमा नेपाललाई चिन्ने बनाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्र पनि सार्वजनिक गरेको थियो। सभापति थापाले प्रतिज्ञापत्रमा १० बुँदे परिकल्पना राख्दै पेटभरी खुवाउने, उत्पादनलाई विश्वसामु चिनाउने, छोराछोरी पढाउँदा ऋण नलिनु पर्ने, मौलिकतामा गौरव गर्ने तर आधुनिकतामा अगाडि बढ्ने, र नेपाललाई समुन्नतिमा लम्काउने लक्ष्यहरू उल्लेख गरेका छन्।

थापाले प्रतिज्ञासभामा स्पष्ट पार्दै भने, “राजा जनकले जस्तै नेपाली कांग्रेस आफ्नो प्रतिज्ञाबाट एक इन्च पनि पछि सर्ने छैन। अब कसैले नकाब लगाएर सिंहदरबार जलाउन पाउँदैन, र हातमा फाइल बोकेर काठमाडौं धाउनुपर्दैन।”

उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सही ढंगले सुशासन दिन नसक्दा भएका घटनाक्रमको गहिराइ बुझ्न जरुरी रहेको औंल्याए। अहिलेको परिस्थितिमा कसलाई जिताउने भन्दा पनि देशलाई विषम परिस्थितिबाट कसरी जोगाउने भन्ने मूल प्रश्न रहेको उनको भनाइ थियो।

कांग्रेसले मधेसी जनताको साथ, भरोसा र विश्वासलाई महत्त्व दिएको भन्दै पार्टीले भविष्यमा सुशासन र समृद्ध नेपाल निर्माण गर्ने साझा संकल्पको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट