वासिङ्टन डीसी : डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रिनल्याण्डलाई जसरी पनि लिई छाड्ने सुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । ग्रिनल्यान्ड मामिलामा उनी युरोपेली देशमाथि आक्रामक बनिरहेका छन् ।
आइतबार ग्रिनल्यान्डको अधिग्रहण पूरा नभएसम्मका लागि युरोपका आठ देशमाथि २५ प्रतिशतसम्म अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेका ट्रम्पले ट्यारिफको धम्की बढाएका छन् । युरोपेली देशहरूबाट अमेरिका आउने सामानमा अब उनले १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सकिने संकेत गरेका छन् ।
ट्रम्पको यस्तो धम्कीका बीचमा युरोपेली संघ (ईयू)ले आफ्ना हितको रक्षा गर्ने स्पष्ट सन्देश दिएको छ । ग्रिनल्याण्डलाई आफ्नो नियन्त्रणमा दिन युरोपेली देशमाथि दबाब बढाउने ट्यारिफलाई हतियारको रूपमा प्रयोग गर्ने एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले बताएका थिए ।
बेलायतसहित डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स र फिनल्याण्डबाट अमेरिका भित्रिने सबै सामानमा फेब्रुअरी १ देखि उनले १० प्रतिशत ट्यारिफ लगाउने र जुन १ देखि यसलाई बढाएर २५ प्रतिशतमा पुर्याउने चेतावनी दिएका थिए । अमेरिकालाई ग्रिनल्याण्ड बेच्ने कुारमा सहमत नभएसम्म ट्यारिफ जारी रहने उनको भनाइ छ । ट्यारिफको मामिलामा अझै कडिकडाउ गर्ने हो कि भनेर सोधिएको प्रश्नमा उनले आफू १०० प्रतिशतसम्म पुग्न सक्ने बताएका थिए ।
ग्रिनल्याण्डमा बल प्रयोग गर्ने हो कि होइन भन्ने प्रश्नमा भने ट्रम्पले ‘नो कमेन्ट’ भनेका छन् । उनका यस्ता अभिव्यक्तिले युरोपेली देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ । डेनमार्कका विदेश मन्त्री लार्स लोके रास्मुसेनले धम्कीको भरमा ग्रिनल्याण्डमाथि स्वामित्व दाबी गर्न नसकिने भन्दै आफूहरूसँग पार गर्न नमिल्ने रातो रेखा रहेको बताएका थिए । युरोप लडाइँ खोज्न इच्छुक नभए पनि आफ्नो अडानबाट पछि नहट्ने ईयूकी विदेश नीति प्रमुख काजा कालासले स्पष्ट पारेकी छिन् । ग्रिनल्याण्डको भविष्य ग्रिनल्याण्डवासी र डेनमार्कले मात्र तय गर्ने बेलायती विदेश मन्त्री यभेट कूपरले दोहोर्याएकी छिन् ।
ग्रिनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोको अस्तित्व नै संकटमा पर्न सक्ने चेतावनी डेनमार्कले दिएको छ । यसबीच केही युरोपेली नाटो सदस्यहरूले ग्रिनल्याण्डमा सांकेतिक रूपमा सैनिक पठाएका छन् । आर्कटिक क्षेत्रको सुरक्षामा डेनमार्क र ग्रिनल्याण्डसँग सहकार्य जारी रहने नाटो महासचिव मार्क रुटेले भनेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij