मुम्बई :बलिउड अभिनेत्री कृति सेननले महिला हिंसा, यौन दुर्व्यवहार र पितृसत्तात्मक सोचमाथि गम्भीर प्रश्न उठाएकी छन्। बिहारको जमुईमा बालिकामाथि भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले महिलालाई मात्र सावधानी अपनाउन सिकाउनेभन्दा पुरुषलाई सम्मान र मर्यादामा रहन सिकाउनुपर्ने बताएकी छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत कृतिले यो लडाइँ पुरुष र महिलाबीच नभई महिलालाई कमजोर ठान्ने सोचविरुद्ध रहेको बताएकी हुन्। उनका अनुसार कतिपय महिलाले समेत पितृसत्तात्मक सोचलाई संस्कारका रूपमा स्वीकार गरिरहेका छन्।
उनले यौन हिंसाका घटनापछि पीडितले के लगाएकी थिइन्, कहाँ गएकी थिइन् वा परिवारले किन अनुमति दियो भन्नेजस्ता प्रश्न उठाउने प्रवृत्तिमाथि पनि प्रश्न गरेकी छन्। अपराधीको व्यवहार र मानसिकतामाथि प्रश्न हुनुपर्ने उनको भनाइ छ।
कृतिले जमुई घटनाको भिडियो खिचेर सहयोग गर्नुको सट्टा सार्वजनिक गरिएको भन्दै त्यसप्रति समेत असन्तुष्टि जनाएकी छन्। घटनापछि प्रहरीले अनुसन्धानका लागि विशेष टोली गठन गरेको छ भने केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
कृतिको अभिव्यक्तिले महिला सुरक्षा, सामाजिक सोच र यौन हिंसाप्रतिको जिम्मेवारीबारे सार्वजनिक बहसलाई पुनः चर्चामा ल्याएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij