चितवन : पर्यटकीय नगरी चितवन सौराहामा १५औँ विश्व हात्ती दिवस हात्तीलाई वनभोज खुवाएर मनाइएको छ। हात्तीको संरक्षण, उचित व्यवस्थापन र मानव–हात्ती सहअस्तित्वको सन्देश दिने उद्देश्यले युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल्ला चौरमा विशेष कार्यक्रम आयोजना गरेको हो।
बाघमारा, चित्रसेन, जनकौली र कुमरोज मध्यवर्ती सामुदायिक वनको सहकार्यमा आयोजित कार्यक्रममा हात्तीलाई लामबद्ध गराएर उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, फर्सीलगायतका परिकार खुवाइएको थियो। हात्तीको लस्करसहित आयोजित वनभोजले खेल्ला चौरमा आकर्षक दृश्य देखिएको थियो। सौराहाको पर्यटन इतिहास हात्ती सफारीसँग जोडिएको छ।
यही हात्ती सफारीले चितवनमा पर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको व्यवसायीहरू बताउँछन्। हाल चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत ५८ वटा हात्ती रहेको र सौराहामा मात्रै ४५ वटा
हात्ती रहेको तथ्यांक छ। नेपालभर सरकारी तथा निजी गरी करिब १८५ वटा हात्ती रहेको व्यवसायीहरूको भनाइ छ। हात्ती पर्यटनको आकर्षण मात्र नभई वन संरक्षण, गस्ती, विपद् व्यवस्थापन र चोरी–तस्करी नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन्।
तर निजी हात्तीका लागि निकुञ्जभित्रको घाँस उपयोग गर्न नपाउने अवस्थाले आहार व्यवस्थापनमा समस्या भएको व्यवसायीहरूको गुनासो छ। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्रप्रसाद खतिवडाले निजी हात्तीलाई निकुञ्जबाट घाँस उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरे। साथै उमेर पुगेका हात्तीको दीर्घकालीन व्यवस्थापनका लागि ‘एलिफेन्ट सेन्चुरी’ निर्माण आवश्यक रहेको उनले बताए।
“सौराहाका निजी हात्तीले पर्यटन विकासमा ठूलो योगदान दिएका छन्। त्यसैले सरकारले चरिचरन, घाँस र हात्तीको दीर्घकालीन व्यवस्थापनमा सहयोग गर्नुपर्छ,” खतिवडाले भने। सरकारले हात्तीको किनबेच तथा ओसारपसारमा प्रतिबन्ध लगाएपछि बूढा तथा काम गर्न नसक्ने हात्तीको व्यवस्थापन थप चुनौतीपूर्ण बनेको व्यवसायीहरूको भनाइ छ। सेन्चुरी निर्माणका लागि आवश्यक स्थान उपलब्ध गराउन सरकारसँग माग गरिएको खतिवडाले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले हात्तीबिनाको चितवन निकुञ्ज संरक्षण कल्पना गर्न नसकिने बताए। उनका अनुसार अहिलेको मुख्य चुनौती हात्तीको संख्या बढाउनु मात्र नभई बासस्थानको क्षमताअनुसार दिगो संरक्षण र मानव–हात्ती सहअस्तित्व कायम गर्नु हो।
“हात्ती संरक्षणका लागि संख्या मात्र महत्वपूर्ण होइन, उनीहरूको बासस्थान र दीर्घकालीन व्यवस्थापन पनि उत्तिकै आवश्यक छ,” पुनले बताए। विश्व हात्ती दिवसका अवसरमा गरिएको वनभोजले हात्तीप्रतिको सम्मान र संरक्षणको सन्देशसँगै सौराहामा निजी हात्तीको भविष्य, आहार व्यवस्थापन र ‘एलिफेन्ट सेन्चुरी’ निर्माणको बहसलाई समेत थप बल दिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij