काठमाडौं : प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ का बाल कलाकार अशोक दर्जीसम्बन्धी पुरानो भिडियो सार्वजनिक भएपछि चलचित्र निर्माण टिमले दुःख व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। चलचित्र ‘पार्वती’ टिमले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै सार्वजनिक भएको भिडियोले आफूहरूलाई दुःखी र विचलित बनाएको जनाएको छ। घटनाको वास्तविकता अझै पूर्ण रूपमा बाहिर नआएको भन्दै टिमले सत्य तथ्य छानबिनमार्फत बाहिर ल्याउनुपर्ने धारणा राखेको छ।
विज्ञप्तिमा भिडियो हेर्दा विषय लेनदेनसँग सम्बन्धित जस्तो देखिए पनि वास्तविकता के हो भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक रहेको उल्लेख गरिएको छ। कसैको गल्ती भए पनि कानुनी प्रक्रिया र मानवीय मर्यादाभन्दा बाहिर गएर गालीगलौज, कुटपिट तथा सामाजिक अपमान गर्नु स्वीकार्य नहुने चलचित्र टिमको भनाइ छ।
टिमले उक्त घटना अहिलेको नभई धेरै समयअघिको भएको दाबी गर्दै अशोक दर्जीको मेहनत, लगनशीलता र प्रगतिले चर्चा पाइरहेको समयमा पुरानो भिडियो सार्वजनिक हुनु गम्भीर विषय भएको जनाएको छ। पुरानो घटनालाई अहिले बाहिर ल्याएर कलाकारलाई बदनाम गर्ने प्रयास भएको हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ।
यसै विषयमा अशोक दर्जीले सम्बन्धित निकायमा दिएको निवेदनसमेत सार्वजनिक गरिएको छ। घटनालाई एकपक्षीय रूपमा नभई तथ्य र आधिकारिक प्रमाणका आधारमा बुझ्न आग्रह गरिएको छ। चलचित्र टिमले अशोक दर्जी सामान्य परिवारबाट आफ्नो प्रतिभा र संघर्षका आधारमा अघि बढिरहेका कलाकार भएको उल्लेख गर्दै उनलाई आवश्यक सहयोग, साथ र न्यायको आवश्यकता रहेको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij