Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अमेरिकामा बिक्री भयो ‘पार्वती’को प्रदर्शन अधिकार, भदौ १२ देखि नेपालभर प्रदर्शन

अमेरिकामा बिक्री भयो ‘पार्वती’को प्रदर्शन अधिकार, भदौ १२ देखि नेपालभर प्रदर्शन

काठमाडौं : आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’**ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। फिल्मको अमेरिका प्रदर्शन अधिकार माया डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ। यद्यपि, अधिकार बिक्री भएको रकम भने सार्वजनिक गरिएको छैन।

अमेरिका प्रदर्शन अधिकार बिक्री भएपछि फिल्मकी निर्देशक तथा मुख्य अभिनेत्री नीता ढुङ्गानाले खुसी व्यक्त गर्दै अमेरिकामा रहेका नेपाली दर्शकलाई हलमै पुगेर फिल्म हेरी साथ दिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले भनिन्, “माया, संघर्ष, स्वीकार्यता र आत्मीय सम्बन्धको कथा बोकेको ‘पार्वती’ अब अमेरिकामा बसोबास गर्ने नेपाली तथा चलचित्रप्रेमी दर्शकमाझ पनि पुग्दैछ। सबैले हलमा पुगेर फिल्म हेरिदिनुहोला।”

निर्देशक ढुङ्गानाका अनुसार अमेरिकापछि अन्य विभिन्न मुलुकका वितरकहरूसँग पनि फिल्मको प्रदर्शन अधिकारबारे छलफल भइरहेको छ। यसले ‘पार्वती’लाई अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो सम्भावना रहेको संकेत गरेको निर्माण पक्षको विश्वास छ।

यसैबीच, फिल्ममा समावेश रत्यौली गीत ‘नौतुना रेलैमा’ ले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शकमाझ लोकप्रियता हासिल गर्न थालेको निर्माण पक्षको दाबी छ।

नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा तयार भएको ‘पार्वती’मा उनी स्वयं मुख्य भूमिकामा देखिएकी छन्। फिल्ममा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपालीआशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ।

शिवम् अधिकारीको पटकथा रहेको फिल्ममा सुदीप बरालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ। नीता फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।

यसअघि नीता ढुङ्गानाले निर्माण गरेको फिल्म ‘ह्रस्वदीर्घ’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। अब उनी पहिलोपटक निर्देशकका रूपमा ‘पार्वती’ मार्फत दर्शकमाझ आउँदैछिन्। फिल्मले स्वदेशसँगै अन्तर्राष्ट्रिय बजारमा पनि कस्तो प्रभाव पार्छ भन्ने प्रतीक्षा चलचित्रप्रेमीमाझ बढेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट