Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जमा छिरेको आशंकामा दुई जना पक्राउ

गैँडा मार्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्जमा छिरेको आशंकामा दुई जना पक्राउ

चितवन :  चितवन राष्ट्रिय निकुञ्जबाट दुई जना व्यक्ति पक्राउ परेका छन्।विश्वमा दुर्लभ, एकसिङ्गे गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा प्रहरीले खड्गनारायण चौधरी र टेकबहादुर मगरलाई पक्राउ गरेको हो।

नवलपरासीको (वर्दघाट–सुस्तापूर्व) मध्यविन्दु नगरपालिका–१ सेतीपानीका ६८ वर्षीय खड्गनारायण चौधरी र चितवनको इच्छाकामना गाउँपालिका–५ फुर्केडाँडाका ५२ वर्षीय टेकबहादुर मगरलाई आज सार्वजनिक गरिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले दुवैलाई नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–३ ब्रह्मस्थानघाटबाट पक्राउ गरिएको जानकारी दिए।

उनीहरूको साथबाट कार्तोस भनिने बन्दुक एक थान र त्यसमा लाग्ने गोलीगठ्ठा बरामद गरिएको छ। पक्राउ परेका चौधरीको घर खानतलासी गर्दा बाघको दाँतजस्तो देखिने आखेटोपहार सात थान, माउजर भनिने बन्दुक एक थान, गोलीगठ्ठा र भारतीय ५०० का नोट १३६ थान बरामद गरिएको थापा मगरले जानकारी दिए।

पक्राउ परेका दुवैलाई संरक्षित वन्यजन्तु एकसिङ्गे गैँडा मार्ने उद्योग र संरक्षित वन्यजन्तुको आखेटोपहार खरिद बिक्री मुद्दामा अनुसन्धान सुरु गरिएको निकुञ्जले जानकारी दिएको छ। दुवैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (५घ) र दफा २६ (१) बमोजिम सजायको माग गर्दै नवलपुर जिल्ला अदालतमा अभियोग दर्ता गरिएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट